काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओली अब कम्युनिस्ट नेता रहेनन् । उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीतिलाई पनि परित्यागको घोषणा गर्न बाँकी छ । व्यवहारमा परित्याग गरिसकेका छन् । ओली माक्र्सको कुरा गर्छन् न त लेनिनको । उनी नास्तिकबाट आस्तिक भएको देखाउँदैछन् ।
ओली अब धार्मिक मुद्दा बोकेर भौतारिन थालेका छन् । उनले गत हप्ताको सोमबार पशुपतिनाथमा ‘संकल्प पूजा’ गरेर हिन्दु राष्ट्र स्थापनाको शंखघोषको संकेत गरिसकेका छन् । चितवन पुगेर सभामा बोल्दै अयोध्यापुरीमा राम मन्दिर बनाउने घोषणा गरिसकेका छन् । उनका हरेक भाषणमा आध्यात्मिक विषयको व्याख्या हुन थालेको छ । उनी आध्यात्मिक गुरुले जसरी प्रवचन दिन थालेका छन् ।
यतिबेला ओलीले हिन्दु राष्ट्रको एजेन्डाको घोषणा गर्ने विषयले राजनीतिक बजार गर्माएको छ । नेकपा नेता सुरेन्द्र पाण्डेले ओलीले २३ माघमा नारायणहिटी सामुन्ने उभिएर हिन्दु राष्ट्रको घोषणा गर्ने अनुमान गरेका छन् । उनले आइतबार माइतीघर मण्डलामा बोल्दै यस्तो अनुमान गरेका हुन् ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री ओलीले विशेष कुरा राख्ने बताएका छन् । उनले भनेका छन्– ‘प्रधानमन्त्रीज्यूले माघ २३ गते जनताको बीचमा विशेष कुरा राख्छु भन्नुभएको छ । कार्यक्रममा सहभागी नहुँदा पछुताउनुपर्नेछ ।’ ओलीनिकट श्रेष्ठको यो भनाई अर्थपूर्ण छ । ओलीले कुनै महत्वपूर्ण राजनीतिक मुद्दा उठाउने घोषणा गर्न सक्ने क्षणका रुपमा २३ माघको दरबारमार्गको कार्यक्रमलाई लिइएको छ ।
सत्ता र शक्तिका लागि जुनसुकै कदम चाल्न तयार देखिएका ओलीले हिन्दुराष्ट्रको मुद्दा बोकेमा आश्चर्य नमाने हुन्छ ।
सत्ताका लागि उनले आफ्नै दल विभाजन गरेका छन् । पाँच दशकसम्म एउटै दलमा रहेर राजनीति गरेका सहकर्मीहरुलाई सडकमा धर्नाका लागि बाध्य पारेर उनीहरुकै उपहासमा मख्ख परिरहेका छन् । ऐतिहासिक संविधानसभाबाट बनेको संविधानको हत्या गर्न खोजेका छन् । ओलीको एकपछि अर्को कदमलाई केलाउने हो भने उनी अब कम्युनिस्ट सिद्धान्त त्यागेर हिन्दुवादीमा रुपान्तरित हुँदैछन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइलाई आधार मान्ने हो भने ओली कसैको इशारामा यी सबै गर्दैछन् । त्यसैले उनले आफैलाई प्रधानमन्त्री बनाउने संसद विघटन देखि संविधान नै संकटमा पार्दैछन् । त्यसका विरुद्ध निर्णायक जनआन्दोलनको विकल्प छैन ।
ओलीको हिन्दूवादी र राजावादीसँग पछिल्लो समय सम्बन्ध सुमधुर बन्दै गएको छ । १६ माघमा ओलीले राप्रपा अध्यक्ष कमल थापासँग दुई घन्टा लामो छलफल गरे । छलफल राजनीतिक एजेन्डाकै विषयमा केन्द्रित थियो । ओलीले हिन्दुवादी र राजावादीको समर्थन जुटाउने गरी सक्रियता देखाइरहेका छन् । राजतन्त्रका पक्षधरहरु ओलीको हाइ हाइमा लागेका छन् ।कम्युनिष्ट प्रधानमन्त्रीको समर्थक राजावादी र हिन्दुवादी हुनु सामान्य विषय होइन । २३ माघमा ओली समूहको सभामा राजावादी र हिन्दुवादीकै व्यापक उपस्थिति हुने बुझिएको छ ।
राष्ट्रवादको मुद्दा सारेर शक्तिशाली बनेका ओलीले थप शक्ति सञ्चयका लागि धर्मको मुद्दालाई बोक्न खोजेका छन् । देशभित्र शक्ति सञ्चय र छिमेकी भारतको समर्थन पनि पाउन सकिने उद्देश्यका साथ उनको कदम बढेको देखिन्छ । उनी मोदी पथमा बढेका छन् । राजनीतिक सफलता हासिल गर्न ओलीले मोदीकै शैली अपनाएका छन् । हिन्दुवादी पहिचान बोकेका मोदी भारतमा लोकप्रीय हुनुमा उनको राष्ट्रवादी पहिचान पनि कारण हो । ओलीले विगतमा राष्ट्रवादी एजेन्डालाई उठाए ।
नाकाबन्दीका बखत खरो रुपमा प्रस्तुत भए । चुच्चो नक्शा बनाएर विरोधीलाई समेत संसदमा पेश गरेको विधयेकमा मतदान गर्न वाध्य पारे । उनको राजनीतिक उचाई ह्वात्तै बढ्यो । तर, संविधानमाथि नै प्रहार गर्ने गरी प्रतिनिधिसभा विघटनपछि अलोकप्रीय भएका छन् । त्यसको क्षतिपूर्तिका लागि उनी धर्मको विषय उठाउन लागिपरेका छन् ।
मोदीले सन् २०१४ मा राष्ट्रवादको मुद्दालाई टेकेर भारतीय जनता पार्टीलाई शानदार जित दिलाए । दोस्रोपटक सन् २०१९ मा बहुमतका साथ चुनाव जित्दा धर्मको मुद्दालाई उठाएका थिए । विशेषगरी अयोध्यामा राम मन्दिर निर्माण मोदीको मुद्दा थियो । उनले पशुपतिनाथ र मुक्तिनाथको महत्वपूर्ण पूजा समेत गरे ।
यसबाट उनले हिन्दु समुदायबाट समर्थन बढाउन सके । ओली यही शैलीमा हिन्दु, बौद्ध र ओमकार परिवारको समर्थन जुटाउने अचुक अस्त्र उठाउन लागिपरेका छन् । जसरी मोदीले भारतमा पहिलो राष्ट्रवाद र पछि धर्मको मुद्दा उठाएर शक्तिशाली प्रधानमन्त्री बन्न सके त्यसरी नै ओलीले मोदीकै शैलीमा धर्मको मुद्दा उठाउने सुरसार कसेका छन् ।
मोदीले अयोध्यामा राम मन्दिर बनाउने एजेन्डाले जसरी समर्थन बटुले त्यसरी नै ओलीले राम जन्मभूमी नेपालकै अयोध्यापुरीमा भएको बताउँदै मन्दिर बनाउने घोषणा गरेका छन् । मन्दिर निर्माण एक वर्षपछि शुभारम्भ गर्ने उनको उद्घोष अर्थपूर्ण छ । हिन्दु धर्म र राम मन्दिर निर्माणको मुद्दा उठाएर ओली चुनावमा जान चाहेको देखिन्छ । राम मन्दिर नेपालकै अयोध्यापुरीमा निर्माणको मुद्दाले राष्ट्रवादी देखिने आंकलन पनि ओली पक्षको देखिन्छ ।
ओलीले हिन्दुवादी र राजावादीको समर्थन जुटाउने गरी सक्रियता देखाइरहेका छन् । राजतन्त्रका पक्षधरहरु ओलीको हाइ हाइमा लागेका छन् । कम्युनिस्ट प्रधानमन्त्रीको समर्थक राजावादी र हिन्दुवादी हुनु सामान्य विषय होइन ।
केही समययता देशमा हिन्दुवादी र राजावादीको शक्ति प्रदर्शन चलिरहेको छ । प्रमुख शहरहरुमा हजारौंको सहभागितामा भएको शक्ति प्रदर्शनका पछाडि सत्ताधारीको पनि भूमिका खुल्दै गएको छ । शुरुमा हिन्दुवादीको शक्ति प्रदर्शन त्यसपछि सोही मुद्दाप्रति ओलीको आत्मीयता देखिनुले साँठगाँठ भएको हुनसक्ने आंकलनलाई बल पुगेको छ । हिन्दु राष्ट्रको पक्षमा स्वतस्फूर्त होस् या योजनावद्ध तरिकाले हजारौ मानिस सडकमा ओर्लिएका थिए ।
भींडको सेन्टिमेन्ट बुझेका ओलीले त्यसकारण पनि धर्मको अस्त्र फाल्न खोजेको देखिदैछ । उनी यही अस्त्रबाट विरोधीहरुलाई पनि परास्त गर्न लागिपरेको देखिदैछ । धर्मको मुद्दालाई उठाउँदा ओलीले तत्काल लाभ लिन सकेपनि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब थेग्न भने कठिन छ । ओली धर्मनिरपेक्ष विरोधी रहेको भन्दै प्रचण्डले शाकाहारी आन्दोलनमा मात्र सिमित नहुने चेतावनी दिएका छन् । अर्कोतर्फ, पश्चिमा देशका राजदूतहरु सक्रिय हुन थालेका छन् ।
अमेरिकी राजदूत रेन्डी बेरीले प्रचण्ड र माधवकुमार नेपाल दुवैलाई छुट्टाछुट्टै भेटेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई पनि भेटेका छन् । युरोपेली युनीयनको पनि संविधान संकटमा परेको विषयमाथि चासो बढेको देखिन्छ । चीनको चासो नेकपा एकता कायमै राख्नेमा देखिन्छ ।
विकसित घटनाक्रमले ओलीको सम्भावित हिन्दुराष्ट्रको अस्त्र जति लोकप्रीय देखिन्छ उत्तिकै देशको भविष्यका लागि जोखिमयुक्त हुनसक्छ । मोदीपथमा पुगेका ओलीलाई आफ्नो स्वार्थमा प्रयोग गर्नुबाहेक स्वयं मोदीले धेरै विश्वास गरिहाल्ने अवस्था पनि देखिँदैन ।