काठमाडौं, २१ माघ । संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् । बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।
सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।
संवैधानिक निकायमा आफू अनुकूल मानिसहरू सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको गणपूरक संख्या नै परिवर्तन गरी अध्यादेश ल्याएका थिए। संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश आएको थियो। सोही अध्यादेशअनुसार बसेको परिषद् बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते नै प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
कानुनविद्हरूले सुनुवाई समितिमै नपुगी ४५ दिन पुर्याएर अनुमोदनविनै नियुक्त गरिनु अवैधानिक हुने बताएका छन् । सुनुवाईविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् ।
यो पनि पढ्नुहोस्