काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आज (बिहीवार) १७ औँ वार्षिकोत्सव मनाएको छ । मुख्य कार्यालय भद्रकालीमा विशेष कार्यक्रम गरेर टेलिकमले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशैभरि फोर जी विस्तारको काम छिटो सक्न र फाइभ जीको तयारी गर्न निर्देशन दिए । सेवालाई चुस्त र भरपर्दो बनाउन पनि मन्त्री गुरुङले सुझाव दिए ।
उनले दीर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन रणनीति व्यवस्थापन साझेदारको व्यवस्था गर्नुपर्ने बताए । टेलिकमले प्रविधिको विकासक्रम अनुसार ‘फाइभजी’ सेवाको विस्तारका गर्न हाल उपलब्ध भइरहेको फ्रिक्वेन्सीको समुचित उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ टेलिकमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले अनलाईन कक्षा, अनलाईन बैठक, अनलाईन किनमेललाई कम्पनीका सेवाहरुले निकै सहयोग पुर्याएको बताए । अब फोरजी र एफटीटीएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकभर फोरजी सीममा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडब्यान्ड सर्भिस, मेसिन टु मेसिन डाटा र एसएमएस प्याकसहितको तीन वटा नयाँ सेवा थप गरिएको बताए।
२०६० सालमा कम्पनीमा रुपान्तरण भएको टेलिकमका अहिले दुई करोड नौ लाख ग्राहक रहेका छन् । ७७ वटै जिल्लाका ६ सय २० वटा पालिकामा फोर जी सेवा पु¥याएको टेलिकमले गएको आर्थिक वर्षमा नौ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।
भ्वाइस सेवातर्फ ५३ दशमलव ६५ प्रतिशत बजार हिस्सा रहेको टेलिकमले गएको मङ्सिरसम्म एक करोड ६४ लाख इन्टरनेट प्रयोगकर्ता रहेको दाबी गरेको छ । देशको ७० प्रतिशत जनसङ्ख्यामा आफ्नो कुनै न कुनै सेवा पुगेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।