काठमाडौं, २२ माघ । नेकपा ओली समूहको शुक्रबार हुन लागेको सभाका लागि कार्यकर्ता काठमाडौं भित्रिन थालेका छन् । नेकपा प्रचण्ड–माधव समूहले बिहीबार गरेको आमहड्तालका कारण देशभर यातायात अवरुद्ध भएपनि ओलीका कार्यकर्ता भने काठमाडौं भित्रिएका हुन् । थानकोट नाकाबाट मात्रै ५० गाडीमा मानिस काठमाडौं भित्रिसकेका छन् । जिल्ला जिल्लाबाट ओसार्ने क्रम जारी छ ।
शुक्रबार नेकपा ओली समूहले दरमार्गमा विशाल प्रदर्शन गर्ने हेतुले काठमाडौं बाहिरबाट मानिस भित्राएका हुन् । यसअघि, बुधबार नै जिल्लामा संयोजक गठन गर्दै उनीहरूकै संयोजकत्वमा विशाल प्रदर्शन देखाउन कार्यकर्तालाई काठमाडौं ल्याइएको हो । काठमाडौं आएका सबैलाई खान र बस्नको उचित ब्यवस्थापन समेत गरिएको छ । काठमाडौं आइपुगेका अधिकांश नेकपाका कुनै समूहका पनि कार्यकर्ता नभएको खुलेको छ ।
गृह मन्त्रीले नै दिएका थिए निर्देशन
खासमा शुक्रबार हुने प्रदर्शनका लागि बिहीबार देखि नै कार्यकर्ता भित्राउने तयारी ओली समूहको थियो । तर, प्रचण्ड–माधव समूहले आमहड्ताल आयोजना गरेपछि ओली समूहले अन्य विकलप खोजी गरिरहेको थियो । शुक्रबार राजधानीमा हुने प्रधानमन्त्री केपी ओलीको शक्ति प्रदर्शनमा आउनेहरुलाई जसरी पनि ल्याउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको समेत दृष्टिलाई स्रोतले बतायो । गृहमन्त्री रामबहादुर थापाले बुधबार मन्त्रालयमा बोलाएर सुरक्षा निकायलाई आफ्नो पक्षको प्रदर्शनलाई सहजीकरण गर्न निर्देशन दिएका थिए ।
काठमाडौं आएका कार्यकर्तालाई खानेबस्ने व्यवस्था
जिल्ला बाहिरबाट मात्र नभई उपत्यकाभित्रैबाट पनि मान्छे ल्याउने तयारी छ । भक्तपुरमा निकै पकड जमाएका महेश बस्नेतले पनि मान्छे ओसार्ने गरी विभिन्न तयारी गरेको बुझिएको छ । भक्तपुरका स्थानीयलाई शुक्रबारको कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको छ । मान्छे ल्याउने क्रममा बसको प्रबन्ध गर्नेदेखि उनीहरूलाई खुवाउने पिलाउने व्यवस्था पनि गरिएको छ । मोटरबाइकमा आउनेहरूलाई पेट्रोल हालिदिइएको छ । बिहीबार नै काठमाडौं आएकालाई नेकपा निकट नेताहरूले चिनेका होटल र लजमा राखिएको छ ।
यस्तो छ कार्यक्रम स्थल
नेकपा ओली समूहले गर्ने कार्यक्रमलाई व्यवस्थित गर्न दरमार्गस्थित दरबार संग्रहालयको मुल ढोकामा स्टेज निर्माण भइरहेको छ । साथै, दरबारमार्ग वरपर राखिएका सबै डिभाइडर हटाइएको छ । सडकमा बिहीबार साँझ देखि नै प्रहरीले सुरक्षा दिन थालेका छन् । साथै, प्रदर्शन हुने भएपछि शुक्रबार दरबारमार्ग पूर्ण रूपमा बन्द हुनेछ । सुरक्षाको कारण देखाउँदै दरबारमार्गक व्यापारीले सभाहुने दिन व्यापार व्यवसाय बन्द गर्ने घोषणा गरेका थिए ।
बिहीबार नै मार्च पास
आमसभाको अघिल्लो दिन बिहीबार ओली पक्षका नेता तथा पूर्वमन्त्री महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले मार्चपास गरेको छ । बिहीबार काठमाडौं र भक्तपुरका १० स्थानबाट करिब तीन हजार स्वयमंसेवकले मार्चपास गरेका थिए ।
शुक्रबार पनि अस्तव्यस्त हुनेछ काठमाडौंको ट्राफिक
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार मध्याह्न १२ बजेदेखि जनसभा सुरु हुनेछ भने ट्राफिक अस्तव्यस्त बिहान ९ बजेदेखि नै हुने अनुमान लगाइएको छ । विभिन्न स्थानबाट दरबारमार्ग पुग्ने जुलुशका कारण आवतजावतमा समस्या हुने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘हामीले सोचे अनुसार जुलुश निस्किने टुंगो हुँदैन, १२ बजे भनिएपनि कार्यक्रम सुरु हुने सही समय नहुँदा दिनभर नै ट्राफिक व्यवस्थापनमा चुनौती छ ।’ उनले भने ।