काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध चाहेको आरोप लगाएका छन् ।
इमेज च्यानलसँगको अन्तवार्तामा अध्यक्ष प्रचण्डले संविधानविरुद्ध कदम चालेर प्रधानमन्त्री ओलीले युद्धको बाटो रोजेको बताएका हुन ।
आफु शान्तिकै पक्षमा रहेको तर ओलीले युद्ध चाहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सहन नेपाली जनता तयार नरहेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको कदमले देश गम्भीर संकटमा फस्दै गएको बताए ।
प्रतिनिधिसभा विघटन सदर भए के गर्नु हुन्न ? भन्ने प्रश्नको जवाफ दिंदै अध्यक्ष प्रचण्डले न्यायालयप्रति विश्वास रहेको बताउँदै न्यायालयबाट पनि ओलीको कदम नसच्चिए नेपाली जनताले निर्णय गर्ने बताए ।
अध्यक्ष प्रचण्डले दक्षिणपन्थी शक्तिको आडभरोसामा प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको समेत बताएका छन् । दक्षिणपन्थी भनेको भारत हो ? भनेर सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले ‘त्यसो होइन’ भन्दै खण्डन गर्न खोजे पनि उनको अभिव्यक्ति भारततर्फ नै लक्षित थियो ।