Logo
Logo

ऐतिहासिक लाँकुरीमञ्च मासेर थ्रीडीपार्क बनाइयो तर अलपत्र


- दृष्टि संवाददाता

441
Shares

गुल्मी, २३ माघ । गुल्मी तम्घासको लाँकुरीमञ्चमा निर्माण गरिएको थ्रीडी पार्क अलपत्र परेको छ । रेसुङ्गा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रकम खर्च गरी निर्माण थालिएको पार्क लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

पार्कको संरचना निर्माण भएको एक वर्ष पुगिसकेको छ । तर, निर्माण व्यवसायीले पार्क हस्तान्तरण गरेका छैनन् । पार्क संचालन र व्यवस्थापनको काम पनि भएको छैन् । जसका कारण संरचना बिग्रन थालेका छन् ।

थ्रीडी पार्कले वर्षौको इतिहास बोकेको लाँकुरीमञ्चलाई विस्थापित गर्यो । तर, पार्क संचालन र व्यावस्थापन प्रक्रिया अन्यौलमा परेको छ । एक बर्षसम्ममा पनि निर्माण व्यावसायीले पार्क हस्तान्तरण गरेका छैनन् । संचालन र व्यावस्थापनको टुङ्गो नलाग्दै संरचना बिग्रन थालेको हो ।
फोहोरा मुनिको पानी फोहोर भइसकेको छ ।

पार्कको छेउछाउ फोहोर फाल्न थालिएको छ । पार्कमा जम्मा हुने पानीमा बालबालिका पौडी खेल्न थालेका छन् भने गेट पनि भाँचिएको छ । रंगरोगन समेत मेटिन थाल्यो । संरचना निर्माण गर्न हतारो गर्ने तर व्यावस्थापनमा चासो नदेखाउने प्रवृतिको पछिल्लो उदाहरण तम्घासको थ्रीडी पार्क बनेको छ । यो पार्क फेरि त्यस्तो स्थानमा छ, जुन निकायले यसको विषयमा चासो राख्नै पर्छ ।

जिल्लाका योजनाहरुको अनुगमन गर्ने जिल्ला समन्वय समिति र अख्तियारको प्रतिनिधि संस्था जिल्ला प्रशासन कार्यालयको गेटमै डेढ बर्षदेखि पार्क अलपत्र पर्दा दुवै निकाय मौन छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुख दैनिक पार्क नजिकैबाट कार्यालय पस्छन् । कार्यालयकै झ्यालबाट पनि दिनभर पार्क देखिन्छ । तर, उनीहरु अहिलेसम्म तैचुप मैचुप छन् ।

लाँकुरीमञ्चः तम्घासको मुटु हो । लाँकुरीको चौतारीमा बसेर थुप्रै व्यावस्थाका विरुद्ध खबरदारी भएका छन् । त्यहि मञ्चले थुप्रै नेता जन्मायो । बिरोध वा विजयसभा गर्नुपरे नेता तथा कार्यकर्ता लाँकुरीमञ्चमा भेला हुन्थे । मञ्चको बेग्लै पहिचान र इतिहास थियो ।

अहिले आधुनिक शहरको नाममा लाँकुरीमञ्च भत्काएर थ्रीडीपार्क निर्माण गरिएको छ । तर, संचालन र व्यावस्थापन प्रक्रिया अन्यौल भएका कारण पार्क बेवारिसे बन्दै गएको छ । मञ्चको बर्षौदेखिको पहिचान गुम्ने तर लामो समय नयाँ पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुखद पक्ष हो ।

पार्कको संरचनामा क्षति पुगेको विषयमा जनप्रतिनिधि जानकार नभएका होइनन् । तर, लाखौको योजना आँखा अगाडीनै अलपत्र हुँदा पनि संचालन र व्यावस्थापनको बिषयमा रमिते बनेका छन् ।

यो पार्कको बिषयमा जनप्रतिनिधी र कर्मचारी चुपचाप छन् । दलका नेता पनि कोहि बोल्दैनन् । पार्क भित्र पसेर राज्यको लागानी दुरुपयोग भइरहेको तमसा हेर्न कोहि तयार छैनन् ।

प्रतिक्रिया दिनुहोस्