काठमाडौं, २३ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धमेन्द्र बाँस्तोला रिहा लगतै पक्राउ परेका छन् । सर्वोच्च अदालतले बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी दिएसँगै रिहा भएका थिए ।
रिहा पछि पुनः प्रहरीले उनलाई पक्राउ गरेको छ । चन्द समूहमाथि लागेको प्रतिबन्धपछि भएका हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा बास्तोलाविरुद्ध कमलपोखरीसहित जिल्ला प्रहरी कार्यालय सुनसरीलगायत स्थानमा परेको जाहेरी विचाराधीन रहेको प्रहरी स्रोतको भनाइ छ ।
त्यसैका आधारमा उनलाई थप अनुसन्धानका लागि पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।
न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार थुनामुक्त गर्न आदेश जारी गरेको थियो ।
यसअघि, यही माघ १५ गते न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो ।
बाँस्तोलाकोतर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्द प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खुस्थित् एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ ।