बाजुरा, २३ माघ । जगनाथ गाउँपालिकामा पाँच शैया अस्पतालको निर्माणकार्य सम्पन्न भई गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । अध्यक्ष शाहीले अस्पतालको रिबन काटेर उद्घाटन गरेका हुन् । देशैभर ५ शैया, १० शैया र १५ शैयाका भवन अन्तरगत निर्माण भएको अस्पताल एट्याच बाथरुप, ट्वाइलेट, खानेपानी, बत्तीको व्यवस्थासहित निर्माणकार्य सम्पन्न भएको गाउँपालिकाका प्रबक्ता डबल विकले जानकारी दिए ।
आजै एमबिबिएस डा. जस्मिता वलमपाटीले १० जना बिरामीको चेकजाँच गरी सेवा शुभारम्भ गरेका हुन् । ओपीडी कक्षमै विरामीको नाम दर्ता गराई डा पाटीले दम, पिसाब पोल्ने, पेट दुख्नेलगायतका बिरामीलाई सेवा दिएका प्रबक्ता विकले बताए । अब आर्थिक अभावका कारण रोग पालेर बसेकाहरुलाई राहात पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।
औपचारिक कार्यक्रका बीच उद्घाटनको भएको कार्यक्रममा उपाध्यक्ष ऐना गिरी, २ नं वडाका वडाध्यक्ष कर्णबहादुर विष्ट, गाउँपालिकाका प्रवक्ता डबल र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । आगामी दिनमा गाउँमै भिडियो एक्सरे र ल्याब सेवा सञ्चालनका लागि पहल गरी निकट भविष्यमै बिरामीलाई भरपर्दो सेवा गाउँमै दिइने गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । देशैभर ५ शैया, १० शैया र १५ शैयाका भवन निर्माणअन्तर्गत जिल्लाका अन्य स्थानीय तहहरुमा पनि निर्माणकार्य भइरहेको रहेको छ ।
– नन्दा थापा