काठमाडौं, २३ माघ । नेकपा ओली पक्षले आयोजना गरको जनसभाका कारण शुक्रबार राजधानीको सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज दरबारमार्ग अगाडि शक्ति प्रदर्शन गर्न जनसभाले गर्दैछ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार दरबारमार्गतर्फ जाने भाडाका साना सवारी–साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्णपाउरोटी, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरिएको छ ।
सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठूला सवारी–साधनलाई भने चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको छ । ड्राइभर्सनका कारण माइतीघर, सिंहदरबार, पुतलीसडक, कमलादी, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी–साधन केही ‘क्यु’मा चलिरहेका छन् । कार्यक्रम अवधिभर सवारी–साधन ड्राइभर्सन हुने भएकोले सवारी–साधनका चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।
यस्तै यात्रुवाहक ठूला सार्वजनिक बसलाई चक्रपथभित्र चलाउन पनि दिइएको छैन । जनसभाका कारण बढ्ने चापलाई मध्यनजर गर्दै यात्रुवाहक बसलाई चक्रपथमा मात्रै चलाउन दिइएको महाशाखाले जनाएको छ ।