असंवैधानिक कदमपछि सर्वनाशक समयको प्रतिक्षामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली विरक्तिएर पशुपतिनाथको शरणमा पुगे । करिब सात दशकको राजनीतिक जीवनमा धर्मलाई ‘अफिम’को संज्ञा दिँदै आएका ओलीले ईश्वरीय शक्तिमा संसार देख्न थाल्नु आश्चार्य हो ।
माक्र्सवादी दर्शनबाट दीक्षित ओलीको वैचारिक दृष्टिकोणमा धर्म अफिम हो । तर, कपटपूर्ण उनको स्वार्थमा अफिम पनि अमृत भइदियो । पतनको अन्तिम झड्का धान्न ओलीले धर्मको डोरो समाएका छन् । त्यो डोरोको गाँठो भारतीय प्रधानमन्त्री धार्मिक अतिवादी नरेन्द्र मोदीसँग जोडिएको छ । धर्मलाई अफिम मान्ने त्यो ओली र धर्मलाई संसार देख्ने यो ओली कसरी सम्भव भयो होला ? यो चर्चा गराैं ।
चरम धार्मिक अतिवादी नरेन्द्र मोदी २६ मे २०१४ मा भारतको प्रधानमन्त्री निर्वाचित भए । भारतीय जनता पार्टीबाट प्रधानमन्त्री निर्वाचित मोदीले लोकप्रियता कमाउने चाहनामा धर्मलाई अस्त्रको रुपमा प्रयोग गरे ।
हिन्दू धर्मइतर धार्मिक आस्थामाथि बारम्बार प्रहार गर्दै मोदीले धार्मिक राष्ट्रवादी बिल्ला भीरे । धर्मको नाममा मोदीले राष्ट्रवादी मुखौटो लगाए । हो, त्यति नै बेला १२ अक्टोबर २०१५ मा नेपाली मोदीको रुपमा केपी शर्मा ओलीको उदय भयो, प्रधानमन्त्रीको भेषमा । सोही बिन्दुबाट भौतिकवादी कम्युनिष्टबाट ओली ईश्वरीय शक्तिमा विश्वास राख्ने आस्तिक धर्मभीरु भए । कम्युनिष्ट विचारबाट बिचल्लित भए । र, मोदीकै लयमा हिन्दूधर्म इतरलाई अनेक गाली गर्न थाले ।
त्यसैको निरन्तरता स्वरुप हिन्दू धर्मग्रन्धहरुको काल्पनिक पात्रहरुलाई आर्दश मान्न पुगे । काल्पनिक धर्मग्रन्थ रामायणको पात्र ‘राम नेपालका हुन्’ भनेर वकालत गर्न थाले, जनता कोरोनाले मर्दै गर्दा चितवनमा राम मन्दिर बनाउन बजेट छुट्याउँदै पशुपतिनाथ पुगेर लाखबत्ती बाली ‘संकल्प पूजा’ गर्नेसम्म भए ।
ओली १५ फेब्रुअरी २०१८ मा दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भए । त्यसको तीन महिनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए । सोही समय ११ मे २०१८ मा ओली र मोदीले जानकी मन्दिरमा सँगै पूजा गरे । त्यहि समय मोदीबाट ओली अझ बढी दीक्षित भए ।
हिन्दू अतिवादी गतिविधिकै प्रतिफल प्रधानमन्त्री बनेका मोदीले दास्रो कार्यकाल प्रधानमन्त्री निर्वाचित हुन झनै धार्मिक अतिवादी गतिविधि बढाए । निर्वाचन नजिकिदै जाँदा मोदीले दर्जनौँ मन्दिर धाए, हिमालय पर्वतहरुमा ध्यान गरेजस्तो नौटंकी देखाए, इतर धर्मका हजाराँैलाई कुनै न कुनै वहानामा समाप्ता पारिदिए । त्यसको परिणामस्वरुप मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भए ।
ओली त्यसैबाट प्रभावित भएका हुन् । आज मोदीकै शैलीमा ओली पनि बेला–बेला तिर्थाटनमा निस्कन्छन् । हिन्दूधर्म इतरका धार्मिक आस्थाहरुप्रति बिषबमन गर्छन् । हिन्दू धर्मावलम्बीको साथ लिँदै राज गर्ने सपना देख्छन् । मोदीजस्तै ओली पछिल्लो समय धार्मिकस्थलहरुको दर्शन गर्दै धार्मिक अभिव्यक्तिहरु दिन थालेका छन् । ओलीको पछिल्लो पशुपतिनाथ दर्शन र पूजा त्यसैको निरन्तरता हो ।
असंवैधानिक तवरमा प्रतिनिधिसभा विघटनगरेपछि विरक्तिएका ओलीलाई महाविपत्त छ । ओलीसँग सैद्धान्तिक र वैचारिक कुनै पनि एजेण्डा छैनन् । एजेण्डविहिन ओली आफूलाई हिन्दूवादी देखाउन कहिले हिन्दू धर्मदर्शनको व्याख्या गर्छन् त कहिले पशुपतिनाथको शरण पर्छन् । अबका दिनमा ओलीबाट अरु बढी धार्मिक गतिविधि हुनेछन् । हिन्दूवादीहरुलार्ई आफुतिर तानेर आगामी चुनाव जित्ने ओलीको ठूलो सपना हो ।
मोदी र ओलीको सैद्धान्तिक वैचारिक धरातल एउटै होइन । धर्म नै सबथोक भन्ने कताको मोदी, धर्मलाई अफिम भन्ने कताको ओली !
मोदी धार्मिक गतिविधिबाटै उदाएका नेता हुन् । त्यसैले धार्मिक अतिवादी कित्तामा उभिँदा सहजै मानिएला । तर, द्वन्द्वात्मक भौतिकवादी स्कुलिङ्का ओलीले धार्मिक गतिविधिमा संलग्न हुनु सामान्य हुँदैन ।
आज मोदीकै शैलीमा ओली पनि बेला–बेला तिर्थाटनमा निस्कन्छन् । हिन्दूधर्म इतरका धार्मिक आस्थाहरुप्रति बिषबमन गर्छन् । हिन्दू धर्मावलम्बीको साथ लिँदै राज गर्ने सपना देख्छन् । मोदीजस्तै ओली पछिल्लो समय धार्मिकस्थलहरुको दर्शन गर्दै धार्मिक अभिव्यक्तिहरु दिन थालेका छन् । ओलीको पछिल्लो पशुपतिनाथ दर्शन र पूजा त्यसैको निरन्तरता हो ।
दुई कारण मात्र कम्युनिष्टहरु धर्ममा विश्वास राख्ने हुन्छन् । एक, वैचारिक रुपमा स्खलित हुँदा । दुई, स्वार्थहरुमा धर्मलाई उपभोग गर्न खोज्दा । ओली यी दुवै कारण धार्मिक गतिविधिमा संलग्न छन् । सैद्धान्तिक वैचारिकरुपमा ओली अब कम्युनिष्ट रहेनन् । दोस्रो कुरा, सबै विकल्पहरु सकिएकाले धार्मिक अस्त्र उपभोग गरेर अभिष्ट पूरा गर्ने ओलीको अन्तिम दाउ हो ।
असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका ओलीले मध्यावधि निर्वाचन घोषणा गरेका छन् । हिन्दूवादीहरुलाई एक ठाउँमा ल्याएर भारतीय प्रधानमन्त्री जस्तै निर्वाचन जितेर राज गर्ने ओलीको तात्कालिक योजना हो । प्रस्तुत योजनामा सफल भए धर्मरिपेक्षता समाप्त पार्ने ओलीको आगामी लक्ष्य हुनेछ । भौतिकवादी ओलीको धार्मिक अवतारबारे चर्चा गरिसकेपछि धर्मबारे ओलीको विगत स्मरण गर्न आवश्यक छ ।
धर्मबारे ओलीको विगत
जेलमा रहँदा मोहनचन्द्र अधिकारीले भगवानको पूजा गरेको भन्दै कारवाहीका लागि पार्टीमा उजुरी दिनेमध्ये एक हुन् केपी शर्मा ओली । २०४१ सालमा जेलमा छँदा अधिकारीले पूजा गरेको प्रशंग उठाएर ओलीले उनीमाथि कारबाहीको माग गरेका थिए ।
समय यस्तो आयो आजपर्यन्त मोहनचन्द्र अधिकारी कम्युनिष्ट आर्दशमै बाँचेका छन् । मोहनचन्द्रले पुजा गरेको भन्दै कारबाही माग गर्ने उनै ओली कम्युनिष्ट आर्दशबाट पूर्णच्यूत भएर धार्मिक अतिवादी बन्दैछन् ।
पूजा गरेको आरोपमा मोहनचन्द्रलाई कारबाही गरेको करिब चार दशक पहिलेको कुरा हो । ओली त केही समय अगाडिसम्म पनि आफूलाई कठोर भौतिकवादीको रुपमा प्रस्तुत गर्थे । २०७३ साल असोजमा तत्कालीन नकेपा एमालेको एक जनवर्गीय संगठनले काठमाडौंमा आयोजना गरेको प्रशिक्षणमा ओलीले भनेका थिए, ‘पार्टी त भौतिकवादी हो । तर, सदस्यहरुलाई भौतिकवादी बनाउन सकिएन ।’
संविधानमा धर्मनिरपेक्ष सुनिश्चित भएपछि जुर्मुराएका धार्मिक समुदायसँग नेता कार्यकर्ताको हिमचिम बढेको भन्दै ओलीले यस्तो अभिव्यक्ति दिएका थिए । ओली आजभन्दा ४ वर्ष अगाडिसम्म नेता कार्यकर्तालाई भौतिकवादभन्दा पनि पुराना ज्ञान र सिद्धान्तले जित्दै गएको भन्दै चिन्ता व्यक्त गर्थे । तर, ४ वर्षपछि उनै ओली गलत अभिप्रायका साथ धर्म र पूर्वीय दर्शनका व्यख्याता भएका छन् ।
२०७४ साल असोजमा तत्कालीन नेकपा एमालेको आठौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मलाई देवत्वकरणमा रुचि छैन र त्यस्ता कुरामा विश्वास पनि गर्दिनँ ।’ ओलीको यो अभिव्यक्ति वरिष्ठ नेता माधवकुमार नेपाल लक्षित थियो । बौद्ध धार्मिक संस्थाले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन नेता नेपाल चीन गएको प्रशंगमा ओलीले कटाक्ष गरेका थिए ।
यसको अर्थ कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता धार्मिक गतिविधिमा संलग्न हुनु सैद्धान्तिक वैचारिक विचलन भन्ने थियो । आजभन्दा ३ वर्ष अगाडी मात्र ओली धर्मप्रति पूरै अभिरुची राख्दथे । तर, आज स्वार्थले चुर्लुम्म ओलीको नग्ननृत्य शिवरात्रीमा पशुपति आउने नागा बाबाकोे भन्दा कम रोमान्चक छैन ।
आजभन्दा दुई वर्ष अगाडी २०७५ बैसाख ९ गते पनि ओलीले धर्म र ईश्वरबारे आलोचनात्मक टिप्पणी गरेका थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको लेनिन जयन्ती विशेष कार्यक्रममा ओलीले भनेका थिए, ‘ईश्वर छैनन्, यदि कसैले ईश्वर छ भन्छ भने, कालमाक्र्सलाई भने हुन्छ ।’
‘हाम्रा भगवान निर्जिव मूर्ति होइनन्, जीवित जनता नै हाम्रा साक्षात भगवान हुन्’ भन्ने जननेता मदन भण्डारीको यो भनाइसँग ओलीको त्यो अभिव्यक्ति एकाकार थियो । उनै ओली अहिले धर्ममा संसार देख्छन् । निर्जीव मूर्तिहरुलाई भगवान मान्न थालेका छन् ।
जबज, धर्म र ओली
ओली ‘जनताको बहुदलीय जनवाद’लाई पेवा ठान्छन् । आफुनै असली अनुयायी भन्छन् । ओलीकै भाषामा भन्ने हो भने जिन्दगीमा एकपल्ट पनि जबजको ‘ज’समेत नभनेकाले ‘जबज’ दावी गर्ने ? तर, ओलीले आफूलाई ‘जबज’को असली जोगी ठान्नु र बरमझीयाका पेडा व्यापारीले आफूलाई बुढा बाजेको असली पेडा पसले मान्नु उस्तै हो ।
जहाँका कुनैपनि पसल असली होइनन् । बुढाबाजे त उहिल्यै बितिसके । अहिले भएका सबै उनको अनुशरण गर्नेहरु मात्र हुन । ‘असली बाजेको पेडा पसल’ भनेर व्यापारीले दावी गरेजस्तै आफूलाई जबजको मुख्य अनुयायी ठान्ने ओलीलाई जबजमा धर्मबारे उल्लेख बुँदा सायदै याद होला !
जननेता मदन भण्डारीद्धारा तत्कालीन कम्युनिष्ट पार्टीको रोडम्यापको रुपमा प्रस्तुत ‘जनताको बहुदलिय जनवाद’ २०४९ साल माघमा सम्पन्न तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनले पारित गर्यो । जबजमा धर्मबारे लेखिएको छ, ‘नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको गणतन्त्र घोषित गरिनेछ ।’ त्यसैमा थप व्याख्या छ, ‘कुनै पनि धर्मको एकाधिकारलाई अन्त्य गरी सबैलाई धार्मिक स्वतन्त्रता र समानता प्रदान गरिनेछ ।’
आफूलाई जबजको असली जोगी ठान्ने ओली धर्मनिरपेक्षता ‘जबज’ले बनाएको रोडम्यापको उपलब्धि हो भन्नेसमेत बुझ्दैनन् । त्यसैले बारम्बार धर्मनिरपेक्षतामाथि प्रहार गर्न खोज्दैछन् । जबजको नाममा कसैले बेइमानी गरेका छन् भने ओलीले गरेका छन् । यस अर्थमा ओलीले आफुलाई जबजको असली अनुयायी भन्न सुहाउँदैन ।
ओली धार्मिक अवतारले निम्तने संकट
ओलीमा वैचारिक विचलन आउँदैमा सिंगो कम्युनिष्ट आदर्श समाप्त हुँदैन । उनकै भाषामाभन्दा एउटा फर्सी कुहिँदैमा बोट नै मर्दैन । ओली कम्युनिष्ट सिद्धान्त र विचारबाट स्खलित हुँदैमा कम्युनिष्ट आन्दोलन रोकिने छैन । तर, ओलीले प्रतिक्रान्ति रोज्दा देशमा ठूलो संकट भने पैदा हुने निश्चित छ । ओली धर्मनिरपेक्षता समाप्त पार्दै देशलाई हिन्दूराष्ट्र बनाउन खोज्दैछन् । ओलीको यो यात्राले देश धार्मिक द्वन्द्वमा धकेलिने छ । त्यो सबैभन्दा संकटपूर्ण समय हुनेछ । त्यो कदमबाट ओलीलाई रोक्नुपर्ने हुन्छ ।
बारम्बार चल्ने हिन्दू राष्ट्रको बहसले गैरहिन्दूधर्मावलम्बीमा ठूलो त्रास पैदा गराएको छ । हिन्दूराष्ट्र भए आफ्नो धार्मिक अधिकार गुम्ने खतरा आँकलन गरिसकेका गैरहिन्दू धर्मावलम्बीको तयारी असामान्य छैन । धार्मिक आस्थामा आघात पुग्ने कदम कोहीबाट भए असामान्य ढंगले विद्रोहमा उत्रने मानसिकता बनिसकेको छ ।
ओली आफूलाई ठीक लागेको बाहेक अरुलाई ठिक मान्न वा देख्न सक्ने प्रवृतिका होइनन् । ओलीको एकलकाँटे आँखाले हिन्दू धर्मबाहेक अरु देख्न सक्दैन । अहिलेसम्म हिन्दूइतरका धार्मिक सम्प्रदाय, जाति, वर्ग, लिंग तथा समूदायप्रति ओलीको दृष्टिकोण अलिकति पनि सकारात्मक छैन । अब खुलेरै हिन्दूधर्म भिरेर हिँड्ने भएपछि अरु धर्मप्रति ओली सहिष्णु बन्नै सक्दैनन् । ओलीको त्यही प्रवृति धार्मिक द्वन्द्वको प्रस्थानविन्दु बन्ने खतरा छ ।
झण्डै ८० प्रतिशत हिन्दू भएको दावी गर्ने भारतलाई हिन्दूराष्ट्र घोषणा गर्ने हिम्मत हिन्दू अतिवादी मोदीलाई पनि छैन । झण्डै ६७ प्रतिशत मतका साथ भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेर सन् २०१४ को चुनाव जितेको थियो । यो भारतीय इतिहासमै सर्वाधिक बहुमत हो । यो मत भारतलाई हिन्दूराष्ट्र घोषणा गर्न पुग्दो थियोे । तर, भारत त्यो गल्ती गर्न कहिले तयार हुने छैन ।
भाजपाले भारतलाई हिन्दू सापेक्ष राष्ट्र बनाएको दिन भारतमा रहेका १३ करोड ८० लाखभन्दा बढी मुस्लिमले अर्कोे पाकिस्तान जन्माउन सक्ने खतरा भारतीय शासकलाई राम्ररी अवगत छ ।
चाहेर पनि आफ्नो देशलाई हिन्दूराष्ट्र बनाउन नसक्ने भारत छिमेकी देशलाई हिन्दूराष्ट्र बनाए आफ्नो बाटो सहज बनाउन खोज्दैछ । नेपाल हिन्दूराष्ट्र भए भारतलाई हिन्दूराष्ट्रको पथमा डोर्याउन सहज हुने बुझाइका साथ भारतीय पक्षले ओलीलाई उकासिरहेका छन् ।
त्यही भारतीय उक्साहटमा ओली हिन्दूराष्ट्रको कालकुट खान तयार भएका हुन् । ओलीको यो कदम रोकिएन भने देश अन्त्यहीन धार्मिक द्वन्द्वमा धकेलिने निश्चित छ । त्यसले देश बिखण्डनको खतरालाई पनि निम्त्याउने छ ।