काठमाडौं, २३ माघ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणको लागि छुट्टयाएको १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि सेयर जारी गर्दा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कूल ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई १८ लाख कित्ता सेयर जारी गरे पनि एक लाख १३ हजार ६ सय कित्ता मात्रै बिक्री भएको थियो। त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ भने ६९ हजार ९२८ कित्ता कर्मचारीहरुका लागि छुट्ट्याइएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ। कम्पनीको आइपीओमा छिटोमा माघ २७ गतेसम्ममा आवेदन दिन सकिनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आगामी फागुन ७ गतेसम्म आवेदन दिने म्याद थपिने छ।
तर पछिल्लो समय जारी भएका सबै जलविद्युत आयोजनाको सेयर पनि ओभर सस्क्राइब भएकाले ग्रीनलाइफको आइपीओ पनि माघ २७ गतेसम्ममा बिक्री भइसक्ने अनुमान गरिएको छ। बजारमा १५ लाख भन्दा बढी प्राथमिक सेयरका आवेदकहरु सक्रिय रहेकाले छिटो र अवधिमै आइपीओ बिक्री भइसक्ने अनुमान गरिएको छ। ग्रीनलाइफको आइपीओमा पर्याप्त आवेदन परेमा बढीमा ३ लाख २६ हजार लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउने छन्।
कम्पनीले दोलखाको गौरीशंकर गाउँपालिकाको खहरेमा ४० मेगावाटको खानीखोला-१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको निर्माण अन्तिम चरणमा रहेकाले अर्को वर्षदेखि नै विद्युत उत्पादन हुनेछ।