Logo
Logo

कन्टेनर बाहिरिन नसक्दा भन्सार यार्डमा ठाउँको अभाव


- दृष्टि संवाददाता

378
Shares

वीरगञ्ज, २३ माघ । अन्तर्राष्ट्रिय नाकाका रुपमा रहेको मुलुककै पहिलो सिर्सिया सुख्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा हाल दुई हजार ६ सय ३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ ।

वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको मुलुकको बन्दरगाहमा कोरोना सङ्क्रमणकाल देखि नै कन्टेनर थन्किएको अवस्थामा रहेको कार्यालयले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार लकडाउनको समयमा तेस्रो मुलुकबाट सामान लिएर कलकता बन्दरगाह हुँदै रेलमार्गबाट आएका कन्टेनर जाँचपासको अभावमा बाहिरिन नसक्दा त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ ।

अहिले भन्सार यार्डमा थन्किएर रहेका दुई हजार ६३९ कन्टेनरमध्ये केही कन्टेनर बाहिरिने प्रक्रियामा रहेका छन् भने अन्य कन्टेनर भन्सार जाँचपास नहुँदा बाहिरिन सकेका छैनन् । एउटा रेलमा ९० कन्टेनर हुने गरेको र अहिले दैनिक तीन रेल आउने गरेका छन् । पुरानो थन्किए रहेका कन्टेनर बाहिर निस्कन नसक्दा यसको प्रभाव भन्सार यार्डमा पर्न गएको छ ।

पाँच वर्षका लागि सुख्खा बन्दरगाहको रु ३ सय ३३ करोडमा ठेक्का पाएको ठेकेदार कम्पनी प्रिष्टिना भ्यालीले लिएको छ । सो बन्दरगाहमा सामान उठाउने रिचस्टेकर मेशिन चार वटा छन् ।

हिमालय टर्मिनलले इन्टर मोडललाई दिने भनिएको थप चार रिचस्टेकर मेशिनमध्ये तीन बनिसकेका र एउटा मेशिनको मर्मत सम्भार भइरहेको छ । समयमा सो मेशिन नदिँदा कन्टेनर लोड अनलोडमा समस्या परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्