काठमाडौं, २४ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा रहेको कांग्रेसले आज प्रदर्शन गर्दैछ । आन्दोलनमा उत्रिएको कांग्रेसको यो तेस्रो चरणको कार्यक्रम हो ।
आजको कार्यक्रम शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाका सदरमुकाममा प्रदर्शन गर्ने रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दैछ ।
कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले आन्दोलनका कार्यक्रममा व्यापकता सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।
कांग्रेसले प्रतिनिधि सभा विघटन र संवैधानिक परिषद्ले गरेको निर्णयमा अझै आन्दोलन चर्काउने बताएको छ । कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो ।
कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ ।