Logo
Logo

कविता : राजधानी


नवीन राई

189
Shares

गाँउका बाँसहरू भन्दा,
अग्ला र बाक्ला घरहरू
बाँसका अख्लाभन्दा बढी
घरका तलाहरू ।
लुकमारी खेल्ने धुलाहरू
छुपुमाछुपु धान रोप्ने हिलाहरू ।

बागबजार र बागडोलमा भुकिरहने कुकुरहरू
स्यालहरूको कब्जामा भएको सिंहदरबार
त्यही स्यालहरू बहुलाएर बनेको साँढेजात्रा ।

ढुंगेधारा, बाइसधारा, बसुन्धारा, सुन्धारा
धारैधाराले बनेको शहर ।
काकाकुल बनिरहेका, मन्छेहरू ।
मिलन चोकमा बिछोडका पीडाले,
विक्षिप्त भएर भक्कानिरहेका युवायुवतीहरू ।

नयाँ बजार र नयाँ बस्तीका,
डुब्न लागेको घामजस्ता घरहरू
पुराना गल्लीजस्ता न्यु रोडका रोडहरू,
जनताका मन जलाइरहने शीतल निवास
पानीपोखरीमा छट्पटाइरहने माछाहरू ।

पशुपतिनाथ, स्यम्भुनाथ, बौद्धनाथ
नाथैनाथले बनेको अनाथ शहर
न्याय र अधिकार माग्दै
माइतीघरमा चिच्याइरहेने चेलीहरू
वैदिकमार्गमा सताइरहने, गुण्डा र चोरहरू
शान्तिमार्गमा कोलाहल गर्ने जड्याँहाहरू ।

चोक र गल्ली–गल्लीमा
आफ्नो ‘राजधानी’को व्यापार गर्न
खप्पिस युवुयुवतीहरू ।
सडकका छेउछाउमा
थुपारिएका फोहोरजस्तो
कुहिरहेका सपनाका लासहरू
बाग्मती किनारमा गन्हारहेका
असंख्य जाँगरिला जिन्दगीहरू ।
अब, नथुपार ममाथि ।

अब,
मेरा ब्याथाहरू
अटार्टिकाका आइस झैं जम्न देउ ।
एकपटक लामो सास फर्ने रहर छ ।
विदेशी गगल्स र पफ्र्युम छर्केर
किच्याउँदै नयाँनयाँ सपनाहरू,
कुदाउन छाड भीआइपी कार्गेटहरू ।

प्रतिक्रिया दिनुहोस्