काठमाडौं, २४ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि नहुने बताएकी छन् । शनिबार भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणबारे जानकारी गराउँदै उनले तलमाथि भए दोषीलाई कारबाही बताइन् ।
भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘तपाईंहरुले निश्चित अधिकारमात्रै दिइएको छ । ऐन विपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ ।’
उनले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिएकी छन् । पुर्जा दिलाइदिनेमा नाममा कसैले प्रभाव पार्न सक्ने भन्दै उनले भनिन्, ‘यही बेला सम्पत्ति जोड्छु भन्ने लागेको छ भने त्यो सोच मनबाट हटाइदिनुहोला ।’
मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विगतका आयोगले पूरा गर्न नसकेको बताउँदै आयोगको काँधमा आएको काम जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सरकारले गत साता ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ ।