काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रतिगमनकारी शक्ति पराजित हुने दिन टाढा नरहेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनता जागेपछि प्रतिगमनकारी शक्ति पराजित हुने अवस्थामा पुगेको बताएका हुन् । नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको भन्दै प्रतिगमनकारी पराजित हुँदै गएको अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।
प्रतिगमनकारी कदम चालेका कारण प्रधानमन्त्री ओली जनताबाट टाढिदै गएको बताउँदै अध्यक्ष प्रचण्डले आफुहरु प्रतिगमन सुरु भएको दिन देखिनै सडकमा रहेकाले जनताको साथ रहेको बताए ।
अध्यक्ष प्रचण्डले अहिलेको लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनबिचको लडाइँ रहेको समेत स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले भने– ‘अहिलेको लडाइँ पदको लागि होइन, विचार, सिद्धान्त, प्रणालीको तथा अग्रगमन र प्रतिगमनबिचको लठाइँ हो ।’ अध्यक्ष प्रचण्डले आफुहरु पदको लागि नै लडाई गरिरहेको अफवाह ओली पक्षले फैलाएको भन्दै अफवाहमा कुनै सत्यता नरहेको समेत बताए ।