Logo
Logo

बैंकिङ समूह चम्किँदा शेयर बजारमा पुनः रेकर्ड


- दृष्टि संवाददाता

567
Shares

काठमाडौं, २६ माघ । शेयर बजारमा सोमबार पनि रेकर्ड कायम भएको छ । बजार पुँजीकरण सर्वाधिकका साथै नेप्से सूचक र कारोबार रकम पनि सर्वाधिक भएको हो ।

१० अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो अहिलेसम्मकै धेरै कारोबार हो । यसैगरी, नेप्से सूचक पनि २ हजार ५ सय ६१ दशमलव ४७ विन्दुमा आइपुगेको छ । यो पनि अहिलेसम्मकै उच्च विन्दु हो ।

लामो समयदेखि वाणिज्य बैंकहरुको भाउ वृद्धि हुन सकेको थिएन । तर, वाणिज्य बैंकहरुमा लगानीकर्ता आकर्षण देखिएसँगै बजार बढेको हो ।

सोमबार कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से सूचक ३७ अंकले बढेको छ। २०६ कम्पनीको २ करोड कित्ता सेयर ९२ हजार पटक किनबेच भएका छन् । ७५ कम्पनीको मात्र मूल्य बढेको छ भने ९३ कम्पनीको सेयर मूल्य घटेको छ ।

६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबारको अधिकांश कारोबार बैंक तथा वित्तीय संस्थामा केन्द्रित भएको छ । सर्वाधिक कारोबार हुने १० मध्ये ९ कम्पनी बैंक तथा वित्तीय संस्था समूहबाटै छन् ।

प्रभु बैंकको मात्रै सर्वाधिक ६२ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल लाइफ, नबिल बैंक र डिप्रोक्स लघुवित्तको समान ३३/३३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

सोमबार पनि सुरुवातमा अधिकांश लघुवित्तको सेयरमा सर्किट लागेपनि बजारमा उतारचढाव आएसँगै लघुवित्तको मूल्य बढ्ने क्रममा ब्रेक लागेको थियो । ग्रामीण विकास लघुवित्त बाहेक अन्य कम्पनीमा लागेको सकारात्मक सर्किट धेरैबेर टिक्न सकेन ।

प्रतिक्रिया दिनुहोस्