Logo
Logo

भारतीय पक्षबाट निरन्तर ओरिया खोलामा अवैध उत्खनन हुँदा पनि प्रशासन मौन


- दृष्टि संवाददाता

693
Shares

पर्सा, २६ माघ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्दै आएको छ । वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको छ ।

दैनिक एक हजारभन्दा बढी भारतीय अबैध ट्र्याक्टर खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको छ । खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र प्रहरी चौकीसमेत छ ।

विगत २० वर्षदेखि खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए ।

केही दिनअघि दुई ट्र्याक्टर कब्जामा लिएको सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए । वारी पर्साको पिपडाडी गाउँ छ भने बारी भारतको भङ्गहा गाउँ छ र बीचबाट ओरिया खोला बगेको भएपनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका बारेमा आफूलाई जानकारी भएको र चाँडै नै अनुगमन गरी दोषी माथि कारवाही गरिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्