Logo
Logo

पार्टी आधिकारिकता दाबी गर्न ओली निर्वाचन आयोग जाने


- दृष्टि संवाददाता

756
Shares

काठमाडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिकता विवाद भइरहेकैबेला प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । उनको सचिवालयले दिएको जानकारी अनुसार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने छन् ।

आधिकारिकता विवादबारे छलफल गर्न आयोगले नेकपाका दुबै समूहलाई गत माघ १६ गते बोलाएको थियो । तर, दुबै समूहले आफूहरु नै आधिकारिक भएको भन्दै छलफलमा नबस्ने बताएका छन् । प्रचण्ड–माधव समूहले आयोग पुगेर दाबी गरेपनि ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री आयोग गएका थिएनन् ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन् । उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

त्यसपछि नेकपा विभाजित बनेको थियो । प्रचण्ड–माधव समूहले आफूहरुसँग धेरै केन्द्रीय सदस्य रहेको दाबी गर्दै आएको छ भने ओली समूहले अध्यक्ष र महासचिव आफूहरुसँग रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्