काठमाडौं, २७ माघ । संवैधानिक आयोगहरुमा नियुक्तिको विवाद चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली थप नियुक्तिको तयारीमा छन् । गत बुधबार नै उनले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उपस्थित नहुने बताएपछि स्थगित भएको थियो ।
प्रधानमन्त्री ओली लोक सेवा आयोग लगायत निकायमा नियुक्तिको तयारीमा रहेको स्रोत बताँउछ । आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली र अन्य सदस्यको पदावधि दुई महिनापछि सकिदैछ । आयोगमा पदाधिकारी नहुँदा भर्ना तथा बढुवा प्रक्रिया नै रोकिन्छ । जसकारण लोक सेवा आयोगमा भने तत्काल नियुक्ति गर्नुपर्ने अवस्था छ ।
आयोगको अध्यक्षमा राजन खनाल र केदार अधिकारीबीच प्रतिस्पर्धा छ । पूर्व अर्थसचिव खनाल स्टाफ कलेजको कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । कुनै लोभ लालच नभएका प्रशासकको पहिचान भएकाले पनि उनलाई धेरैले लोक सेवा आयोगको अध्यक्षमा फिट हुने व्यक्तिका रुपमा हेरेका छन् । हालै सचिवबाट अवकाश पाएका केदार अधिकारी पनि लोक सेवाको अध्यक्षको प्रतिस्पर्धामा छन् । आयोगको सदस्यहरुमा पनि पूर्व सचिव तथा केही प्राध्यापकहरुको दौडधुप छ । तर, बालुवाटार स्रोतका अनुसार लोकसेवामा अधिकारीलाई नियुक्ति दिने तयारी भइरहेको छ ।