काठमाडौं, २७ माघ । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा १६.१३ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ५८ करोड ९६ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको ६ महिनामा नाफा ५० करोड ७७ लाख रुपैयाँ थियो । चालु वर्षकै पहिलो त्रैमासमा कम्पनीले २९ करोड रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले ६ महिनामा सिमेन्ट बिक्रीबाट चार अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक अन्य आम्दानी ३ करोड ४८ लाख रुपैयाँ छ। यससँगै एक अर्ब ७३ करोडको कच्चा पदार्थ खरिदमा खर्च गरेको छ। ९१ करोड ४२ लाख रुपैयाँ बिजुलीलगायतका ऊर्जा खपतमा खर्च भएको छ। तीन अर्ब ५८ करोड रुपैयाँ कुल खर्च भएको छ।
कम्पनीको दोस्रो बजारमा सेयर भाउ पनि निकै माथि पुगिसकेको छ। तीन महिनाको अवधिमा कम्पनीको न्यूनतम सेयर मूल्य ७२८ रुपैयाँ थियो। बढेर १७०० रुपैयाँभन्दा माथि पुगेको थियो। तीन महिनाको अवधिमा कम्पनीको सेयर ५८ दिन कारोबार भएको थियो।
कम्पनीको प्रति सेयर आम्दानी वार्षिक रुपमा मूल्याङ्कन गर्दा २७ रुपैयाँ हाराहारी छ। नेटवर्थ २०४ रुपैयाँ छ। शिवमको होङ्सी शिवम् सिमेन्टमा पनि सेयर लगानी छ। त्यसबाट आएको प्रतिफल शिवमको वित्तीय विवरणमा देखाइएको छैन