काठमाडौं, २८ माघ । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य नेता देव गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको आरोप लगाएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा उनले प्रधानमन्त्री ओलीले गणतन्त्रको अपहरण गरेर ‘मनपरितन्त्र’ शासन सुरू गरेकाे बताए ।
उनले संविधानको रक्षको लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए । उनले भने, ‘ओलीले गणतन्त्रको अपहरण गरेर मनपरितन्त्र शासन सुरू गरेका छन् । ओलीको मनपरीतन्त्रको विरूद्ध, मुलुको संविधानको रक्षको लागि सबै जनता एकजुट हुन जरुरी छ ।’
उनले राजा महेन्द्र र ज्ञानेन्द्रपछि प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरेको पनि बताए । गुरुङले भने, ‘२०१७ सालमा महेन्द्र र २०५९ सालमा ज्ञानेन्द्रले ‘कू’ गरे । २०७७ सालमा ओलीले ‘कू’ गरेर देशलाई प्रतिगमनतिर लगेका छन् ।’
ओलीले संविधानलाई कुल्चेर बलात्कार गरेको गुरुङले बताए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक धर्मनिरपक्षेताको रक्षाका लागि सबै एकजुट हुनुपर्ने गुरुङले बताए ।
ओलीले संसद विघटन गरेर संविधानलाई ‘कोमा’मा पुर्याएकाे पनि उनले आरोप लगाए । उनले भने, ‘अहिले केपी शर्मा ओलीले संविधानलाई अपङ्ग बनाएका छन्, संविधानलाई कोमामा पुर्याएका छन् ।’