काठमाडौं, २८ माघ ।
भिजिट भिसामा हुने मानव तस्करी रोक्न नाममा सरकारले महिलालाई विदेश जान कडाई गर्ने भएको छ । भिजिट भिसा(पर्यटक भिसा)मा महिलाहरु एक्लै विदेश जाने अवस्थामा परिवारको सहमति र वठा कार्यालयको सिफारिस अनिवार्य चाहिने नियम लागू गर्न लागिएको छ ।
अध्यागमन विभागले यस्तो प्रावधानसहितको भिजिट भिसासम्बन्धि नयाँ कार्यविधि गृह मन्त्रालयमा स्वीकृतका लागि पठाएको छ । भिजिट भिसामार्फत हुने मानवतस्करी रोक्न यस्तो कार्यविधि बनाइएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले बताए । ‘भिजिट भिसाको दुरुपयोग रोक्न सकिन्छ कि भनेर यस्तो प्रावधान राखेका हौं’ उनले भने,‘कार्यविधि स्वीकृतका लागि मन्त्रालय पठाएका छौं ।’ यो प्रावधानको महिलाहरुले चर्काे विरोध गरेका छन् । उनीहरुले बिहीबार अध्यागमन विभाग अगाडी प्रदर्शन समेत गर्न लागेका छन् ।
यस्तो प्रावधानले महिलालाई विभेद हुने देखिन्छ । पुरुषको हकमा भने परिवार तथा वडा कार्यालयको सिफारिसको प्रावधान राखिएको छैन । भिजिट भिसामा खाडी लगायत देश गएका महिलाहरु बेचिने भएकाले अध्यागमनले उनीहरुको हकमा कडाई गर्दै आएको छ । कडाई गर्दा स्वतन्त्रतापूर्वक आवातजावत गर्ने अधिकार भने हनन भएको आरोप लाग्दै आएको छ । ‘कडाई गरिएन भने पनि विदेशमा गएर दुःख पाउने अवस्था छ,’ विभागका एक अधिकारी भन्छन्,‘कडाई ग¥यो भने मानव अधिकारका कुरा आउँछ, त्यसकारण हामीले अब एयरपोर्टमा भन्दा प्रक्रियामा कडाई गर्न लागेका हौं ।’ तर, श्रीमान तथा परिवारका अन्य सदस्यसँग भिजिट भिसामा जानेहरुको हकमा भने यस्तो सिफारिस आवश्यक नहुने कार्यविधिमा उल्लेख छ ।
१५ लाखको बीमा अनिवार्य
अब विदेश घुम्न जाने सबैले भिजिट बीमा अनिवार्य गर्नुपर्ने भएको छ । अध्यागमन विभागले बनाएको नयाँ कार्यविधिमा बीमालाई अनिवार्य गर्न लागिएको हो । विदेश जाँदा बिरामी भएका उपचार गर्न तथा मृत्यु भएमा शव स्वदेश ल्याउने खर्च थेग्ने गरी यस्तो बीमा गर्न लागिएको हो । भिजिट भिसामा विदेश गई अलपत्र परेकाहरुको उपचार तथा उद्धारमा हाल समस्या रहेकाले त्यस्तो समाधान समाधान गर्नका लागि बीमाको प्रावधान राख्न लागिएको विभागका महानिर्देशक केसीले बताए । यो प्रावधानले विदेश घुम्न जानेको खर्च बढ्नेछ ।
डलर सटहीको रसिद नै चाहिने
विदेश घुम्न जाँदा न्यूनतम एक हजार अमेरिकी डलर बोक्नुपर्ने कायमै राखिएको छ । यसअघि डलर सटही गरेको पासपोर्टको छाप अध्यागमनलाई देखाउनुपथ्र्याे । अब सटहीको रसिद नै देखाउनुपर्ने भएको छ । विगतमा डलर सटही नगरी पनि कतिपयले यस्तो छाप लगाइदिने भएकाले यसमा कडाई गर्न लागिएको छ । दुईतर्फ टिकट, होटल बुकिङको प्रावधानलाई कायमै राखिएको छ ।
नयाँ कार्यविधिअनुसार तोकिएका कागजपत्र बोकेका कसैलाई पनि अब अध्यागमनमा नरोक्ने विभागको तयारी छ । हाल शंका लागेकामा रोक्न सक्ने तजबिजी अधिकार अध्यागमन अधिकृतलाई दिएको छ । जसकारण घुम्नकै लागि विदेश जान लागेकाहरुलाई समेत फकाईने गरिएको छ । नयाँ कार्यविधिले यस्तो समस्या हल हुने विभागका अधिकारीको दाबी छ ।
गृह मन्त्रालयले हालै गठन गरेको एक छानबिन समितिको प्रतिवेदनका सुझावका आधारमा नयाँ कार्यविधि बनेको हो । लकडाउनपछि वैदेशिक यात्रा खुलेसँगै ठूलो संख्यामा नेपालीहरु भिजिट भिसामा खाडी देश गएको पाइएपछि यसमा छानबिन भएको थियो । भिजिट भिसामा नाममा धेरै जसो काम गर्नका लागि संयुक्त अरब इमिरेटस् लगायतका देश गएको उजुरी थियो । छानबिनको क्रममा सो कुरा पुष्टि भएको थियो । छानबिनका क्रममा भिजिट भिसामा घुम्न गएकामध्ये ६० प्रतिशत नफर्किनुले उनीहरु कामकै लागि गएको समितिको अनुमान छ । सो समितिले भिजिट भिसामा विदेश जानेलाई बीमा लगायत प्रावधान लागू गर्न सुझाव दिएको थियो ।
समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले सेटिङमै भिजिट भिसामा हजारौंलाई विदेश जान दिइएको प्रतिवेदनमा उल्लेख गरेको छ । तर, त्यसमा संलग्न कर्मचारीमाथि थप छानबिन भएन भने र उनीहरुमाथि सामान्य कारबाही समेत भएको छैन ।