Logo
Logo

समाजबाटै असुरक्षित किशोरी

निर्मलादेखि भागरथी हत्यामा कहाँ चुक्यो प्रहरी ?


दृष्टि संवाददाता

756
Shares

काठमाडौं, २९ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर– ७ चुडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाले देशमा महिलाको सुरक्षामा फेरि प्रश्न उठेको छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएजस्तै भागरथी पनि त्यस्तै अपराधको सिकार भएकी छिन् । माघ २१ गते विद्यालयबाट घर फर्कदैगर्दा गाउँमा भएको घटनामा अझै अभियुक्त पक्राउ नपरेपछि अनेक आशंका उठ्न थालेका छन् ।

विद्यालयबाट घर फर्कने क्रममा जंगलमा उनको हत्या भएको थियो । सडकबाट करिब ५० मिटर तल उनको शव भेटियो । पोष्टमार्टमको क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको छ । सामान्यतया परिचित व्यक्तिले बलात्कारपछि हत्या गर्ने अपराध प्रवृत्ति बढ्दै गएको छ । जसअनुसार गाउँकै चिनजानको व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंकाका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी आफैं फिल्डमा खटिएका छन् । उनी भन्छन्– ‘अनुसन्धानको दायरा साँघुरो हुँदै गएको छ, छिट्टै अभियुक्त पक्राउ पर्छन् ।’ घटनाको अनुसन्धानमा सिआइबी टोली समेत खटिएको छ ।

निर्मला र भागरथीको हत्यामा समानता देखिएको प्रहरी अधिकारी बताउँछन् । दुवैको घाँटी थिचेर हत्या भएको बताइएको छ । निर्मला पन्तको भन्दा यो घटनाको अनुसन्धानमा के फरक छ भने मृतक भागरथीसँग मोबाइल छ ।

निर्मलासँग मोबाइल थिएन । घटनास्थलमै उनको मोबाइल भेटिएको छ । सोही मोबाइलको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर, मोबाइलबाट पाएका सूत्र प्रभावकारी हुन नसकेकाले अभियुक्त पक्राउ गर्न ढिलो भएको प्रहरी अधिकारी बताउँछन् । ‘घटना योजनाबद्ध हो जस्तो देखिँदैन’ अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्– ‘बाटोमा जम्काभेट हुँदा कसैले बलात्कार गरी हत्या गरेको हुनुपर्छ ।’

गरिबमाथि नै अपराध
जसरी कञ्चनपुरमा मारिएकी निर्मला पन्तको परिवार आर्थिक रुपमा कमजोर थियो, त्यस्तै अवस्था छ भागरथीको । उनले दुई महिनाअघि मात्र बुबा गुमाएकी थिइन् । जसकारण सामान्य खेती किसानीबाट उनीहरुको परिवार चल्दै आएको थियो । दुर्गम गाउँमा एउटा थोत्रो घर छ, उनीहरुको । परिवार चलाउने आधार उनै भागरथी थिइन् । पढाइमा अब्बल । प्लस टुमा कमर्स लिएर पढ्ने उनी गाउँको एक्लो बिद्यार्थी थिइन् । तर, उनी अपराधीको सिकार भइन् । जून घटनाले भागरथीकी आमा मात्र होइन सिङ्यो देशलाई पीडा दिएको छ ।

दैनिक ६ वटासम्म घटना
नेपाल प्रहरीमा औसतमा दैनिक ६ वटासम्म बलात्कार तथा बलात्कार प्रयास सम्बन्धी उजुरी दर्ता हुने गरेका छन् । साउनदेखि कात्तिकसम्म ७ सय १७ घटना दर्ता भइसकेका छन् । पछिल्लो पाँच वर्षका घटना हेर्ने हो भनेर अपराध दोब्बर भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा प्रहरीमा जम्मा १ हजार ८९ वटा दर्ता भएका थिए ।

२०७३/७४ मा १ हजार १ सय ३१, २०७४/७५ मा १ हजार ४ सय ८० वटा तथा २०७५÷७६ मा २ हजार दुई सय ३० पुग्यो । गत आर्थिक वर्षमा लकडाउनका बाबजुत थोरै मात्र संख्या घटेको छ । अर्थात्, २ हजार १ सय ४४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवर भने घटना बढे्को भन्दा पनि उजुरी दिने क्रम बढेको बताउँछन् ।

बलात्कारका घटनामा बालिका पीडित
आर्थिक वर्ष २०७६/७७ मा देशभरी २ हजार १ सय ४४ बलात्कारसम्बन्धि अपराध भए । जसमा १ हजार ३ सय ९३ जना अर्थात् ६५ प्रतिशत बालबालिका रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । त्यसमा पनि २ सय ७३ जना त १० वर्षभन्दा कम उमेरका छन् ।
अघिल्लो आर्थिक वर्षमा पनि २ हजार दुई सय ३० घटना भएकोमा त्यसमध्ये १ हजार ४ सय २० वटा घटनामा बालिका पीडित भएका छन् । जसमा १० वर्ष मुनिका २ सय ९८ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

खासगरी आफन्त र छिमेकीबाटै बालबालिका धेरै बलात्कारमा परेको प्रहरी अधिकारी बताउँछन् । ‘४ वर्षदेखिका बालिका पीडित छन्,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन् ‘धेरै जसो घटना आफन्त र चिनजानकै व्यक्तिहरुबाट भएका छन् ।’ शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले स्कुलहरुमा गएरै पढाउन थालेको प्रहरी अधिकारीको भनाई छ । तर घटनामा कमी आउन सकेको छैन ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, हत्यारा अझै पक्राउ परेका छैनन् । माघ २१ गते विद्यालयबाट घर फर्कदैगर्दा बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ चुडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भयो । निर्मला र भागरथी हत्याको प्रकृति उस्तै छ । तर, भागरथीको हत्यामा संलग्न अझै पक्राउ गरेका छैनन् । घटना भएको यतिका दिन बितिसक्दा पनि अभियुक्त पक्राउ नपरेपछि भागरथी हत्या प्रकरण पनि निर्मला पन्तकै जस्तो हुने त होइन भन्ने आशंका गर्न थालिएको छ ।

३१ प्रतिशत बलात्कारका घटना छिमेकीबाट
धेरै जना छिमेकीबाट बलात्कारमा परेको प्रहरी तथ्याङकले देखाउँछ । गत आर्थिक वर्षमा भएका २ हजार १ सय ४४ घटनामध्ये ३१ प्रतिशत अर्थात ६ सय ७२ वटा घटनामा छिमेकीको संलग्नता छ । अन्य चिनजानका व्यक्तिबाट बलात्कार भएका छन् । २ हजार १ सय ४४ मध्ये ९ सय १५ वटा घटनामा अन्य चिनजानका व्यक्ति छन् । ४ सय ९७ घटना नचिनेका व्यक्तिबाट भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा बलात्कारमा संलग्नको तथ्याङक उस्तै छ । त्यो वर्ष ६ सय ८५ वटा छिमेकीबाट, १ हजार ४५ चिनजानका अन्य व्यक्तिबाट तथा ५ सय ४२ वटा नचिनेका अन्य व्यक्तिबाट भएका छन् ।

गत वर्षमा ९३ वटा घटनामा केटा साथी तथा ४५ वटामा शिक्षक संलग्न भएका छन् । आफ्नै बुबा तथा झट्केला बुबाबाट एक वर्षमा ४७ जना बलात्कारमा परेका छन् । १५ वटा घटना हजुरबुबाबाट, ८ वटा ससुरा, ४१ वटा काका वा ठुलोबुबा तथा १३ वटा जेठाजुबाट भएका छन् ।
श्रीमानबाटै बलात्कार भएका २६ वटा घटना गत वर्ष दर्ता भएको छ । त्यस्तै सम्बन्ध बिच्छेद भएका श्रीमानबाट २८ जना पीडित भएका छन् । पाँच जना भिनाजु तथा ३ जना घरमालिकबाट बलात्कारमा परेको प्रहरीको तथ्याङक छ ।

कहाँ चुक्दैछ प्रहरी ?
बलात्कारका घटनामा प्रहरीले ९५ प्रतिशत भन्दा धेरै सुल्झाएको छ । तर, केही घटनामा प्रहरीले सफलता पाउन नसक्दा प्रहरीमाथि औंला उठाउने क्रम बढेको छ । प्रहरीको सबैभन्दा ठूलो असफलता निर्मला पन्त प्रकरण नै हो । जून त्यतिबेलाको प्रहरी नेतृत्वले आफ्नो कुर्सी जोगाउन भिडको आधारमा निर्णयगर्दा अहिलेसम्म सुल्झिन सकेको छैन ।

सुरुको प्रहरी अनुसन्धान नै यसमा सही भएको निष्कर्षमा अहिले प्रहरी पुगेको छ । सुरुमा पक्राउ परेका दिलिपसिंह विष्ट डिएनएन रिपोर्ट म्याच नहुँदा छुटेका थिए । डिएनए परीक्षणमा नै त्रुटी भएको खुलेपछि पनि उनलाई प्रहरी नेतृत्वले पक्राउ गर्न सकेको छैन । जबकि, त्यतिबेलाभन्दा यसपटक प्रहरीसँग धेरै प्रमाण छन् ।

निर्मलाकी आमाले जाहेरी समेत दिइसकेकी छिन् । तर, अकाट्य प्रमाण नहुँदा प्रहरीले विष्टलाई पक्राउ गर्ने आँट गर्न सकेको छैन । सो घटनाबाट प्रहरीले पाठ भने सिकेको छ । त्यसता घटनास्थलको सुरक्षामा प्रहरीले चनाखो बढाएको छ । यससम्बन्धि तालिम समेत बढाइएको छ । निर्मलाको जस्तो भागरथीको घटनास्थलमा प्रहरीबाट लापरबाही भएन । जसकारण यो घटना छिट्टै सल्झिने आशा गरिएको छ ।

नेपालमा बलात्कारसम्बन्धी पछिल्लो पाँच वर्षको डरलाग्दो तथ्याङ्क

प्रतिक्रिया दिनुहोस्