काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य तथा निवर्तमान सांसद रामकुमारी झाँक्रीको बानेश्वरस्थित घर वरिपरि प्रहरीले घेरा हालेको छ ।
घरभित्रै गएर नियन्त्रणमा नलिई निस्कनाथ लिन प्रहरी तयारी अवस्थामा स्रोतको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा नेतृ झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिन लागेको हो ।
नेतृ झाँक्रीले केही समयअघि गोरखामा राष्ट्रपति विद्या भण्डारीलाई बडामहारानीको संज्ञा दिँदै भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् । शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गए पनि हुन्छ ।’
उक्त अभिब्यक्ति आएपछि झाँक्रीलाई कारबाही गर्न माग गर्दै ओली निकट अनेमसंघले ११ माघमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको वा ल्याउन लागिएको बताएका छन् । झाँक्रीलाई ल्याउन बिहीबार बिहानैदेखि उनको घरमा प्रहरी परिचालन गरिएको छ ।