Logo
Logo

मन्त्रिपरिषद्लाई नै किन्न सक्ने शोभाकान्तको जेल यात्रा सुरु


दृष्टि संवाददाता

1071.1k
Shares

काठमाडौं, २९ माघ ।
मन्त्रिपरिषद्लाई नै प्रभावमा पारेर ललिता निवास जग्गा हिनामिना गर्ने घटनाका योजनाकारमध्ये एक शोभाकान्त ढकाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । बिशेष अदालतमा उपस्थित भएका उनलाई थुनछेक बहसपछि थुनामा पठाउने आदेश दिएको हो ।


मुद्दा दायर भएको एक वर्षपछि ढकाल अदालतमा उपस्थित भएका हिुन् । बिशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ढकाललाई थुना पठाउन उनकी श्रीमती उमाकुमार ढकाल्नीको बयानलाई समेत आधार बनाइएको छ ।

छानबिन प्रतिवेदन, मालपोतका कर्मचारी, परिस्थितीजन्य अवस्था, राणा परिवारको बयानका आधारमा बिशेषले उनलाई थुनामा राख्नुपर्ने आदेश दिएको हो । आदेशमा भनिएको छ,‘थुनछेक आदेशतर्फ विचार गर्दा प्रतिवादीले आरोपित कसुरमा इन्कार गरेतापनि त्रिताल आयोगको छानबिन प्रतिवेदन, नवराज सुवेदी समेतका व्यक्तिले गरिदिएको घटना विवरण कागज, आरोपदावी अनुसार अधिग्रहण गरी समरजंग कम्पनीको नाममा दर्ता रेहेका ललिता निवासमा पर्ने सरकारी जग्गाहरु मालपोत कार्यालय डिल्लीबजारबाट मिति २०४९/०९/२३ र २०४९/०७/२५ मा मिसिल नम्बर १०२४ र १०२५ बाछ शैलजा राणा लगायतका व्यक्तिहरुलाई फिर्ता गरी मिति २०६२/०९/१५ मा भएको हाल साविक निर्णयबाट विभिन्न कित्ता जग्गाहरु उमा कुमारी ढकाल्नी समेतका नाममा श्रेस्ता अध्यावधिक गरिएको सम्बन्धित श्रेस्ता पूर्जाबाट देखिएको निज प्रतिवादीकी श्रीमती उमा कुमारी ढकाल्नीले जग्गा सम्बन्धि सबै कारोबार आफ्नो श्रीमानले गरेको भनी अदालतमा बयान गरेको, तत्कालिन अवस्थामा मालपोत कार्यालय काठमाडौंमा कार्यरत प्रकाश नारायण भट्टले बेहोरा बुझ्न शोभाकान्त ढकाल पनि आउने गरेको भनी गरेको बयान, ललिता निवास अन्तर्गतका जग्गा मध्ये प्रतिवादी शोभाकान्त ढकाल, निजकी श्रीमती उमाकुमार ढकाल्नीका नाममा विभिन्न मितिमा प्राप्त गरेको जग्गाको परिणाम, जग्गा प्राप्तीको पृष्ठभुमी, परिस्थितीजन्य अवस्था र यी प्रतिवादी उपरको आरोपित कसुरको गम्भीरता समेतका पक्षहरुको समग्रतामा विचार गर्दा यी प्रतिवादी शोभाकान्त ढकालको हकमा बिशेष अदालत ऐन २०५९ को दफा ७(ङ) को अवस्था बिद्यमान रहेको देखिदा प्रतिवादी शोभाकान्त ढकाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई कानून बमोजिम गरी थुनामा राख्नु भनी थुनुवा पूर्जी दिई सम्बन्धित कारागारमा लेखि पठाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिमको आदेश पर्चा गरिदिएको छ ।’

उनीविरुद्ध ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको थियो । उनकी श्रीमती उमाकुमारी ढकाल्नीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको थियो । उनलाई अदालतले २ लाख धरौटीमा छाडेको थियो ।

ढकाल र राम प्रसाद सुवदी मिलेर सबैतिर सेटिङ मिलाएर सो जग्गा व्यक्तिको नाममा ल्याइएको शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिको निष्कर्ष थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सोही दाबी गरी आयोगले मुद्दा दायर गरेको थियो । उनीविरुद्ध ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको थियो । उनकी श्रीमती उमाकुमारी ढकाल्नीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको थियो । उनलाई अदालतले २ लाख धरौटीमा छाडेको थियो । सो हिनामिना प्रकरणका अर्का योजनाकार रामप्रसाद सुवदी फरार छन् ।

सो मुद्दामा बिशेषले तीन जनालाई थुनामा पठाउने आदेश दिएको छ । अदालतमा उपस्थित भएका पहिलो प्रतिवादी मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा पठाउने आदेश भएको थियो । पछि उनी सर्वाेच्च अदालतबाट छुटे । त्यस्तै अख्तियर दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि थुनामा पठाउने आदेश भएकोमा उनी डिल्लीबजार कारागारमा छन् ।

मुद्दा दायर गरिएका एक सय ७५ मध्ये पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहित ५४ जना अझै उपस्थित भएका छैनन् । गत साता अदालतमा उपस्थित भएका मीनबहादुर गुरुङसँग दुई करोड धरौटी माग भएको थियो ।
जेल चलान भएका ढकाल नवलपरासीका हुन् । तत्कालिन नेकपा(एमाले)का नेताहरुलाई हातमा लिएर उनले जग्गाको कारोबारबाट करोर्डौ कमाएका थिए । उनीहरुकै योजनामा सरकारी जग्गा व्यक्तिको नाममा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्