काठमाडौं, २९ माघ । नेकपाको नेतृ रामकुमारीले झाँक्रीले यो अन्तिम लडाइँ भएको बताएकी छन् । बिहीबार उनकै निवास शंखमुलबाट प्रहरीले राज्यविरुद्धका कसुरमा पक्राउ गरेपछि सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।
महानगरिय प्रहरीको टोलीले पक्राउपछि अपराध अनुसन्धानको कार्यलय मिनभवनमा पु¥याएपछि नेतृ झाँक्रीले ट्विट गरेकी छन्, राज्यविरुद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मीनभवनमा छु ।’ उनले त्यहीबाट स्टाटस लेखेकी छन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो ।’
झाँक्रीले संविधानको धारा ५८ बमोजिम आफू पक्राउ परेको लेखेता पनि उनलाई पक्राउ पुर्जी जारी गरिएको मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ (फौजदारी कसुरहरू) परिच्छेद १ (राज्य विरुद्धका कसुर) अन्तर्गत दफा ५८ अनुसार हो । उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने बारेमा उल्लेख छ ।
झाँक्री पक्राउ परेकोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता तथा कार्यकर्ताले विरोध गरेका छन् । त्यस्तै, झाँक्री पक्राउको विरोधमा प्रचण्ड–माधव समूहको विथार्थीले देशव्यापी आन्दोलन गर्ने भएको छ ।