यांगुन, २८ माघ । म्यान्मारमा गत साता भएको सैन्य ‘कू’को विरोधमा अहिले यहाँ दशौँ हजार मानिसले विरोध जारी राखेका छन् । यसैबेला अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने बताइएको छ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ ।
‘कू’विरुद्ध प्रदर्शनका क्रममा मंगलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका बेला अमेरिकाले प्रतिबन्धको कदम चालेको हो । अमेरिकी राष्ट्रपति बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सुकीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् ।
मंगलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । तर, ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कफ्र्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ०४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ ।