काठमाडौं, ३० माघ । काठमाडौं उपत्यकामा पुनः बर्डफ्लु रोग देखापरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लु रोग देखापरेको पशुसेवा विभागले जनाएको छ ।
तारकेश्वर नगरपालिका-१ का स्थानीय कृषकले पालेका हाँसमा बर्डफ्लु देखिएको हो। नमूना परीक्षण गर्दा बर्डफ्लु रोग प्रमाणित भएको पशुसेवा विभागले जानकारी दिएको हो ।
विभागले जारी गरेको विज्ञप्तीमा स्थानीय कृषकले पालेको हाँसको नमूना केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग (H5N8) प्रमाणित भएको उल्लेख छ ।
तारकेश्वर नगरपालिका-७ साङ्लेखोला फुटुङमा पनि यसअघि माघ १६ गते बर्डफ्लु देखापरेको थियो। लगत्तै विभागले उक्त क्षेत्रका अन्य शंकास्पद स्थानमा पालिएका पन्छीमा परीक्षण अघि वढाएको थियो।
विभागले जनाए अनुसार बर्डफ्लु फैलिन नदिन पशुसेवासँग सम्बद्ध निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पशुपन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ ।
त्यसक्रममा १४ सय २१ हाँस, ४२ ओटा कुखुरा, २६ ओटा अण्डा, र ८ सय केजी दाना नष्ट गरी उक्त क्षेत्रलाई पूर्णरूपमा निःसंक्रमण गरिएको विभागले जनाएको छ। बर्डफ्लु रोग फैलिन नदिन विभागले सम्पूर्ण सरोकारवालाहरुलाई अपिलसमेत समेत गरेको विभागले जनाएको छ ।
विभागले पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी परीक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, नियमित रुपमा निःसंक्रमण गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ।