काठमाडौं, ३० माघ । के तपाइँ ‘पठाओ’को ग्राहक हुनुहुन्छ ? यदि हुनुुहुन्छ भने तपाइँलाई १४ फ्रेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन–डे’मा उपहार थाप्नु तयार हुनुस् । प्रेम दिवशको रुपा लिइने ‘भ्यालेन्टाइन– डे’को अवसरमा पठाओले आफ्ना राइडर र ग्राहक लक्षित प्रेममय उपहार कार्यक्रम घोषणा गरेको छ ।
पठाओका अनुसार आफ्ना दश उत्कृष्ट राइडरलाई ‘भ्यालेन्टाइन–डे’को दिन आपसी प्रेम र सद्भाव बढोस् भनेर फ्री डिनर उपहार प्रदान गर्ने भएको छ । उक्त योजनाअनुसार उत्कृष्ट दश राइडरहरुले आफ्नो जोडीसहित डिनरमा सहभागी हुन पाउनेछन् ।
यस्तै, ‘भ्यालेन्टाइन–डे’कै दिन पठाओ एपमार्फत खाना अर्डर गर्ने ग्राहकलाई रातो गुलाफको फूल उपहार प्रदान गर्ने योजना रहेको पठाओले जनाएको छ ।
पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातका अनुसार पठाओको दश वटा ट्याक्सीमा ‘भ्यालेन्टाइन–डे’को दिन ‘मायाको पाटी’ पनि राखिनेछ । उक्त दिन ट्याक्सी प्रयोग गर्ने प्यासेन्जरले आफ्नो मायालुलाई सम्झेर मायाको पाटीमा आफ्नो सन्देश लेख्न सक्नेछन् ।