Logo
Logo

ओलीले चुनाव गरेर गल्ती सच्याउनुपर्छ, कांग्रेस चुनावका लागि तयार छ : मोहन बस्नेत


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं, ३० माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गरेका छन् । कांग्रेस चुनावको पक्षमा रहेको प्रष्ट पार्दै चुनावबाटै समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए ।

‘प्रधानमन्त्रीज्यू तपाईंले गर्नुभएको अपराध पखाल्न निर्वाचन गर्न जानुस् र सच्चिनुहोस्,’बस्नेतले भने, ‘चुनाव गर्न सक्नुभएन भने इतिहासमै सबैभन्दा बाढी कालो धब्बा लगाउनुपर्छ ।’ उनले देशमा चुनाव हुने सुनिश्चितता अनिवार्य भएको बताए । काँग्रेस चुनावका लागि तयार रहेको स्पष्ट पारे ।

अदालतलाई थ्रेट दिने कार्य कहीं कतैबाट हुन नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतका नेताहरुले अदालतलाई धम्की दिइरहेको भन्दै आलोचना गरे ।

उनले भने,‘अदालतलाई कसैले थ्रेट दिन मिल्दैन । केपी ओलीजी र विरोधीहरुले अदालतलाई थ्रेट दिन मिल्छ रु’ काँग्रेस अदालतको निर्णयलाई पर्खन तयार भएको बताए । अदालतको फैसलालाई धैर्यताका साथ कुर्न आग्रह गरे । देशमा संविधान खतरामा रहेको र ट्रयाकमा ल्याउन पनि चुनाव जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले वातावरणलाई त्रसित बनाइरहेको आरोप लगाए ।

प्रतिनिधिसभा पुर्नबहाली भएपनि काँग्रेस मान्न तयार रहेको बताए । कम्युनिस्टहरुले सत्ता र पैसाको लागि लडाई गरिरहेको आरोप लगाए । उनले भने,‘यो कम्युनिस्टहरुको लेनदेन, पैसा र सत्ताको लडाईं हो ।’

देशमा ठुलो संकट आउनसक्ने भन्दै सचेत रहनुपर्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर लोकतन्त्रको घाँटी निमोठेको टिप्पणी गरे । राष्ट्रपति भण्डारीको भूमिकामाथि समेत बस्नेतले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्