काठमाडौँ, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्ष र सहिदको बलिदानबाट प्राप्त भएको गणतन्त्र संविधान जस्ता उपलब्धी गुम्ने खतरा रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमनले गर्दा जनताको बलिदानी र सहिदको रगतले प्राप्त गरेको संविधान र गणतन्त्र गुम्ने खतरा रहेको बताएका हुन् ।
कार्यक्रममा प्रचण्डले भने, ‘यो उपलब्धी रक्षा गर्न, दक्षिण पन्थी आक्रमण रोक्न फेरि एकपटक संघर्ष गर्नुपर्नेछ ।’ कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण प्रतिनिधि सभा विघटन गरेर दश वर्षे सशस्त्र द्वन्द्व, जनआन्दोलनबाट प्राप्त भएका उपलब्धी गुम्ने खतरा बढेको उनको भनाई छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनले प्राप्त गरेको गणतन्त्र र संविधानविरुद्ध भइरहेका गतिविधि चिर्न फेरि एकपटक संघर्ष गर्नुपर्ने प्रचण्डले बताए ।
सशस्त्र द्वन्द्व र जनआन्दोलनमा घाइते भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना र बेपत्ता भएकाहरुको छानबिन गर्ने काम टुंगोमा पुर्याउनुपर्ने उनको भनाई छ ।