काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसंवत् प्रतिनिधिसभा विघटन गरेको दावी गरेका छन् ।
नेकपा ओली समूहले बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको धार ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रतिनिधिसभा विघटन संविधानसंवत् रहेको बताएका हुन । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिदैछ, तर यो विधानसंवत् छ । लगभग दुईतिहाइ बहुमतको प्रधानमन्त्रीको हैसियतमा मैले संसद विघटन गरेको हो । संविधानको धारा ८५ ले भने अनुसार प्रधानमन्त्रीको विशेष अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गरेको हुँ ।’
प्रधानमन्त्री ओलीले संविधानको ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गरेको बताए पनि यो धारारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । धारा ७६ भने भन्छ– ‘संविधानको धारा ७६ (७) को उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिने व्यवस्था छ ।’
त्यस्तै प्रधानमन्त्रीले दावी गरेको धारा ८५ ले पनि प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । धारा ८५ ले भन्छ– ‘संविधानको धारा ८५ (१)मा संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।’
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहलाई निर्वाचनमा आफ्नो पक्षमा जनमत रहेको सातिव गर्न समेत चुनौती दिएका छन् । अको निर्वाचनमा ५० लाख समानुपातिक मत र प्रत्यक्षतर्फ बहुमत ल्याउने दावी गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन नै देशलाई निकास दिने माध्यम रहेको बताएका थिए ।