Logo
Logo

एक महिनादेखि स्वास्थ्यचौकी कर्मचारीविहीन


दृष्टि संवाददाता

189
Shares

सिमकोट, २ फागुन । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको छ ।
एकएक इञ्चार्ज, अनमी र कार्यालय सहयोगी भए पनि सबै आफ्नो निजी काममा जिल्ला बाहिर गएकाले पन्छिन खोजेको स्थानीयवासी भीषण कार्कीले बताए । एक महिनादेखि बन्दस्वास्थ्यचौकीमा कार्यालय सहयोगी समेत नहुँदा बन्दको बन्दै छ ।
गाउँमा सामान्य बिरामी हुँदा सिटामोल दिने स्वास्थ्यकर्मीसमेत नभेटिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । सेवा लिन स्वास्थ्यचौकी पुगेका बिरामीले तीन महिनादेखि रित्तो हात लिएर घर फिर्ता हुनुपरेको बताइएको छ ।
रिपबासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे तीन घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका छन् भने कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको स्थानीयवासीको गुनासो छ ।

रिपबासी मात्रै नभएर वडा नं ३ उनापानीका सेवाग्राहीले समेत रिप स्वास्थ्यचौकीबाट सेवा लिने भएको हुँदा गाउँपालिकाका दुई वटा वडाका नागरिकलाई थप समस्या बनाएको छ । स्वास्थ्यचौकी इञ्चार्ज आफ्नो घर बनाउन सुर्खेत गएको र एक अनमी आफ्नै काममा व्यस्त रहेको स्थानीयवासीले आरोप लगाएका छन् ।
स्वास्थ्यचौकी इञ्चार्ज चन्द्रसिंह कार्कीले भने, ‘म कामविशेषले तराई झरेको हुँ, अबको एक दुई हप्तामा कार्य क्षेत्रमा फिर्ता हुन्छु ।’ आफू तराई झरेको दुई हप्तापछि स्वास्थ्यचौकीमा कार्यरत अनमीको दुई महिनाको तालीम भएकाले उनी पनि तराई झर्दा कार्यालय बन्द रहेको इञ्चार्ज कार्कीले स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्