सोल्टिनी !
उहिले उहिले पो पर्खिएर हुलाकी
टोलाउँदै र टोक्दै बुलाकी
बिर्सियो कि ! ढुकढुक पार्दै त्यो मन
हसिँयाले भुँइमा कोरेर घाम–जुन
अनन्त सोच्दै देउरालीको पाती
चिठ्ठीमा माया पोक्थ्यौं राति ।
बोली नफुट्ने सितिमिति
हाम्रो ऊ बेलाको मायाप्रीति
मेला र बजार भेटै हुँदा
छुटिने बेला हामी रुँदा
रुमालै बरै चिनो साट्ने
बाचा है गर्दै फेरि भेट्ने
सोल्टिनी !
वनपाखै आँसु सलङ्लङ्लङ्
खोलाको पानी कलङ्लङ्लङ्
पवित्र थियो माया
अटुट थियो विश्वास ।
मोबाइल थिएन
कानेखुशी गर्नलाई
बाचाले रोक्थ्यो
मनखुशी गर्नलाई
पात बजाएर विरह पोख्दा
हाकपारे गाएर वह भूल्दा
न थियो रातो गुलाब
न थियो मौसमी डेटिङ ।
सोल्टिनी !
लोकन्दी हिड्ने लस्कर जस्तो
नदेख्दा माया कस्तो–कस्तो
बाडुल्कीको हिक्का हिक्कामा
रेजी मालाको कम्पनी सिक्कामा
दुबो साँक्षी वचनले बाँधेर
मनभित्र अटुट सम्झना साँचेर
उहिले–उहिले गरेको माया नै मीठो
रातो भालेको रातो रगतभन्दा रातो
साँच्चै निख्खुर रातो माया ।