काठमाडौं, २ फागुन । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् ।
आफूलाई ‘अभद्र व्यवहार’ गरेको भन्दै सपनाले उजुरी दिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
सपनाले शुक्रबार नै जाहेरी दिन खोजेपनि सार्वजनिक बिदा भएको कारणले जाहेरी आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले जानकारी दिए ।
बस्नेतले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए ।
बस्नेतले धम्कि दिएसँगै सपनाले सामाजिक सञ्जालमा आफूलाई आत्महत्या गर्न बाध्य पार्ने अवस्था बनाइदिएको अभिव्यक्ति समेत दिएकी थिइन् ।
सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए । सोही क्रममा केही महिनाअघि उनीहरुबीच तिक्तता आएको थियो । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्दै आएकी थिइन् ।