काठमाडौं, २ फागुन । मोफसलमा रहेर निरन्तर साहित्य साधनामा सक्रिय कवि एवं गजलकार कर्ण दयालका नवीतम दुई कृति बजारमा आएका छन् । दयालका पछिल्ला दुई कृति ‘बेवारिसे लौरो’ कवितासंग्रह र ‘लकडाउन’ गजलसंग्रह हालै प्रकाशित भएका हुन् ।
बैतडीमा रहेर राष्ट्रिय विषय र जनजीविकाका सवालहरु टपक्क टिपेर सृजनामा ढाल्ने स्रष्टा दयालका पछिल्लो समय सृजित रचनाहरू उल्लिखित कृतिमा समाविष्ट छन् ।
समाजका विभिन्न पक्षहरू– सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक एवं राजनीतिक पक्षका बारेमा देखेर, भोगेर, नियालेर केही लेख्ने कोशिस गर्दै जाँदा कवितासंग्रहले आकार लिएको कवि दयाल बताउँछन् । उक्त संग्रहमा पछिल्लो दुई–तीन वर्षयता रचना गरिएका विविध भावका ३९ वटा कविता समाविष्ट छन् ।
कवितासंग्रहबारे कवि राजेन्द्र तारकिणी भन्छन्– ‘दयालको कविताका विषयवस्तु सिस्नो, च्याउ, कोदो, नासपातीदेखि राजनीतिक क्रान्ति अनि परिवर्तनका नाउँमा भएका धोकाधडीसम्म छन् । देश र जनताको मुहार फेर्ने हुङ्कारका साथ भएका जनयुद्ध एवं क्रान्तिका दौरान सोझासीधा जनता केवल ‘लौरो’ बनेको कारुणिक यथार्थ उनले उद्घाटन गरेका छन् ।’
यस्तै, ‘लकडाउन’ गजलसंग्रह विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) महामारीको पीडामाझ जन्मिएको कृति हो । संक्रामक रोग कोभिड नियन्त्रणका लागि विश्व नै लकडाउनमा जानुपरेको, त्यसले जनजीवन अस्तव्यस्त बनाएको, नेपालले पनि उक्त कठोर नीति चाल्दा त्यसबाट सृजित समस्याहरू गजलमार्फत व्यक्त गरिएको छ । मानिसहरु रोजगारविहीन हुनु, घरभित्रै थुनिनु, अकालमा ज्यान गुमाउनु तर आफन्तले छुनसम्म नपाउनुजस्ता भयावह क्षणका प्रतिध्वनिका रुपमा यस संग्रहभित्रका गजलहरु रहेका छन् ।
संग्रहबारे गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’ भन्छिन्– ‘लकडाउनमा गरीखाने जनतालाई आफ्नै खालको पीडा छ । स्वतन्त्र जीवन, स्वतन्त्र विश्वको चाहनालाई लकडाउनले अस्तव्यस्त पारिदिएको छ । लकडाउनका यावत पीडालाई समेटेर गजलकारले यस सङ्ग्रहमा आफ्नो भावना व्यक्त गरेका छन् ।’
दयालका यसअघि पनि ‘आमनेसामने’ लगायत चारवटा गजलकृति प्रकाशित भइसकेका छन् । उनका पछिल्ला कृति ‘बेवारिसे लौरो’ र ‘लकडाउन’ सम्पादन हाउसको सहकार्यमा काठमाडौँबाट युरेका पब्लिकेशनले बजारमा ल्याएको हो । ‘सम्पूर्ण किताब’ वितरक रहेको दुवै कृतिको मूल्य रु २०० राखिएको छ ।