काठमाडौं, २ फागुन । प्रतिनिधिसभा विघटनको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–माधव पक्षले चौँथौ चरणको आन्दोलन घोषणा गरेको छ । आइबतार केन्द्रीय संघर्ष समितिले पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै चौँथौ चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
चौथौ चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै केन्द्रीय संघर्ष समितिका संयोजकसमेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले असंवैधानिक कदमविरुद्ध आफूहरु सडकसँगै कानूनी संघर्षमा रहेको बताए ।
नेकपाले ५ फागुनदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभालगायतको कार्यक्रम घोषणा गरेको छ । त्यस्तै ६ फागुनमा प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंको टुँडिखेलमा मानव साङ्लो निकाल्ने भएको छ ।
यस्तै, ७ फागुनमा देशव्यापी पालिकाका र वडाहरूमा वडास्तरीय विरोध कार्यक्रम गर्ने, २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध वृहत् अन्तरक्रिया गर्ने, ९ गते प्रतिगमन र महिलाहिंसा, हत्या एवं बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहित संयुक्त विरोध कार्यक्रम गर्ने रहेको छ ।
यस्तै, फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगञ्जमा विरोध प्रदर्शन र सभा र संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवं मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिने भएको छ ।