Logo
Logo

मोदीवेणीधामका सात सय वर्ष पुराना शालिग्राम चोरी


- दृष्टि न्युज/संवाददाता

0
Shares

पर्वत । पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् ।

मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् ।
अज्ञात समूहले मन्दिरको ढोका फुटाएर शालिग्रामसहित दानपेटिकासमेत लगेको उहाँले बताउनुभयो । “दानपेटिकामा भने खास पैसा थिएन”, बैरागीले भन्नुभयो, “शालिग्राम भने लगभग सात सय वर्ष अगाडिका हुन् ।” सबै शालिग्रामको तौल लगभग १०० किलो हुने भएकाले यसमा एक जना मात्रै संलग्न नभएर गिरोहले नै चोरी गरेको हुनसक्ने अनुमान उहाँको रहेको छ ।
पूजाआजाका लागि बिहान ४ बजे पुजारी र भक्तजन मन्दिरमा जाने क्रममा ढोका फोरेर शालिग्राम चोरी भएको थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताउनुभयो । शालिग्राम एउटाको यति नै मूल्य पर्छ भन्ने यकिन छैन । तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीले एउटा शिलालाई रु १० हजारसम्म बिक्री गर्ने गरेको पाइन्छ ।
अर्थाभावले मिर्गौलापीडितको उपचारमा समस्या
दुवै मिर्गौला फेल भएका यहाँको एक विकट गाउँका युवाको अर्थाभावले उपचारमा समस्या परेको छ । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरी सराङ्दी निवासी ४५ वर्षीय चेतनाथ भुसालको अर्थाभावका कारण उपचारमा समस्या भएको हो । विगत एक वर्षअघिदेखि दुवै मिर्गौला फेल भए पनि रकम अभावमा उहाँको उपचारमा समस्या भएको छ । मिर्गाैला रोगबाट पीडित भुसालको उपचार खर्च जुटाउन परिवारले सबैसँग आग्रह गरेको छ ।
श्रीमती गीता भुसालले आफ्नो श्रीमान्को उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । विगत लामो समयदेखि भारतमा कपडा बनाउने कम्पनीमा काम गर्दै आउनुभएका भुसालको गत वर्ष एक्कासि मिर्गौलामा समस्या आएपछि उपचार गराउँदै आउनुभएको छ । उहाँको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि अहिले नियमित डाइलासिस गरिरहेको श्रीमती भुसालले जानकारी दिनुभयो । मिर्गाैला प्रत्यारोपण गर्न र थप उपचारका लागि रु २० लाख खर्च लाग्ने अस्पतालले जनाएपछि परिवार अत्तालिएको छ ।
कमाएको सबै पैसा उपचारमा सकिएपछि अहिले भुसालकी श्रीमती श्रीमान्को उपचारका लागि आर्थिक सहयोग जुटाउन विभिन्न सङ्घसंस्था र सहयोगी हातहरुको खोजीमा हिँड्नुभएको छ । “श्रीमान्को उपचारका लागि घरमा पालेका भैँसी, बाख्रा सबै बेचियो, घर भूकम्पले थिलोथिलो भएको छ, खेतबारी पनि विकट ठाउँमा छ, बाँदर, दुम्सी लाग्छ बिक्री हुँदैन”, मन भारी पार्दै उहाँले दुखेसो पोख्नुभयो ।
भुसालका १३ वर्षका एक छोरा छन् । अन्य आर्थिक स्रोत केही नभएपछि सहयोगी हातहरु खोज्नुबाहेक अरु विकल्प नभएको उहाँले बताउनुभयो । पीडित भुसालको अहिले भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ । भुसालको उपचारमा सहयोग गर्न उहाँकी श्रीमती गीताको मोबाइल नं ९८१७११५८४३ सम्पर्क गर्न र राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३५४००००२४३१० मा पनि पैसा जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्