Logo
Logo

यूरोपियन युनियनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्याे चीन


दृष्टि संवाददाता

756
Shares

एजेन्सी, ५ फागुन । सन् २०२० मा अमेरिकालाई पछि पार्दै चीन यूरोपियन युनियनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ ।

कोरोना महामारीका कारण यूरोपका प्रमुख साझेदार देश बीच ब्यापार घट्दा चीनले भने त्यही समयलाई सदुपयोग गर्दै ठूलो व्यापारिक साझेदार बन्न पुगेको हो ।

गत वर्ष पहिलो त्रैमासिकमा कोरोनाका कारण चीनको अर्थतन्त्र खराब  थियो । तर, वर्षको अन्तिमतिर आइपुग्दा चीनको आर्थिक स्थितिमा निकै सुधार आएर युरोपेली संघका सामानहरुको माग बढेको थियो ।

गत वर्ष चीन र यूरोपियन युनियन बीचको व्यापार ७ सय ९ अर्ब डलर थियो । यसको तुलनामा यूरोपियन युनियनसँग अमेरिकाको व्यापार २०२० मा जम्मा ६ सय ७१ अर्ब डलर रहन गयो ।

यसै बीच मेडिकल उपकरणहरु तथा विद्युतीय उपकरणको ठूलो मागका कारण पनि यूरोपमा चीनको निर्यात फाइदाजनक सावित भएको छ ।

यूरोपियन युनियनको प्रमुख पार्टनर बनेको चीनले सन् २०२० मा आयातमा ५ दशमलव ६ प्रतिशत र निर्यातमा २ दशमलव २ प्रतिशतको वृद्धि भएको छ ।

अमेरिका र बेलायतसँग यूरोपियन युनियनको व्यापारमा भने ठूलो गिरावट आएको छ । अमेरिकासँग यूरोपियन युनियनको आयातमा १३ दशमलव २ प्रतिशत र निर्यातमा ८ दशमलव २ प्रतिशत गिरावट आएको बिबिसीले जनाएको छ ।

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले युरोपसँगको व्यापारलाई लिएर अमेरिकी नीतिमा पुनर्मूल्यांकन गर्ने हुन् या होइनन् भन्ने प्रस्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्