दाङ, ५ फागुन । दाङको देउखुरीको राजपुर गाउँपालिका ७ मा विद्यार्थी कुट्ने एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
परीक्षामा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई कुटेको आरोपमा माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले गणित विषयको परीक्षामा शून्य नम्बर ल्याएको भन्दै कक्षाकोठामा कुटेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको थियो ।
नियन्त्रणमा लिएको शिक्षक विकलाई बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरीले जानकारी दिएको छ । शिक्षक विकविरुद्ध विद्यार्थीका अभिभावकले किटानी जाहेरी गरेका थिए ।
उक्त जाहेरीको आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।