Logo
Logo

तीन दिन प्रजातन्त्र दिवस मनाइने


दृष्टि संवाददाता

504
Shares

काठमाडौं, ५ फागुन । सरकारले प्रजातन्त्र दिवस तीन दिन मनाउने भएको छ ।

विसं २००७ फागुन ७ मा एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको हो ।

यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ मनाउन लागिएको छ ।

गत २० माघमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो ।

बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो । समितिले अनुमोदन गरेअनुसार बिहीबारदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।

फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो भने विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।

यस अवसरमा सरकारी एवं गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम आयोजना हुने जनाइएको छ । सो अवसरमा तीन दिनसम्म दीपावली गर्न पनि सरकारले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्