काठमाडौं, ६ फागुन । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।
अनेरास्ववियु (रञ्जित तामाङ समूह)ले आज काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले सडकमा सरकारविरुद्ध नाराबाजीसहित बालेको टायर प्रहरीले हटाएको थियो । यस्तै बिहान क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रर्दशन गर्दैै छ ।
दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने कार्यक्रम रहेको अनेरास्ववियुले जनाएको छ ।
नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएपछि यसको चौतर्फि विरोध भईरहेको छ ।
त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् ।