काठमाडौं, ६ फागुन । अदालतको अवहेलना सम्बन्धी मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।
अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशअनुसार प्रधानमन्त्री ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च अदालत गएका हुन् । प्रधानमन्त्री ओली पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेर १२ बजे फर्किएका थिए ।
गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।
ओलीले सो मुद्दाको गत आइतबार म्याद बुझेका थिए । दालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।
म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिन अदालतले आदेश दिएको थियो । न्यायाधीश शर्माकै इजलासले पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दामा पनि आफैं उपस्थित भएर लिखित जवाफ दिन आदेश गरेको थियो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनलाई पनि लिखित जवाफसहित आफैं उपस्थित हुन भन्ने आदेश न्यायाधीश शर्माको इजलासले दिएको थियो ।
अवहेलना मुद्दा लगाइएका चार पूर्वप्रधानन्यायाधीशले भने अदालतमै म्याद बुझेर सोमबार लिखित जवाफ दिइसकेका छन् ।