काठमाडौं, ७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले प्रतिनिधिसभा विघटनपछि मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको र जनतामा निराशा, आक्रोश र अन्यौलता छाउनु सुखद पक्ष नभएको बताएका छन् ।
उपराष्ट्रपति पुनले हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा अहिलेको राजनीतिक परिस्थितिका कारण मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसले संविधानको पालन र संरक्षणका लागि सबैलाई प्रेरणा दिने र मुलुक सही दिशाबाट अगाडि बढ्ने विश्वास लिएको उपराष्ट्रपति पुनले सन्देशमा उल्लेख गरेका छन् ।
पटक–पटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्ततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोश र अन्यौलता छाउनु सुखद पक्ष नभएको उपराष्ट्रपति पुनको भनाई छ ।
विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपब्धिलाई सार्वभौम संविधानसभाबाट जारी नयाँ संविधानले संस्थागत गरिसकेको उपराष्ट्रपति पुनले सन्देशमा उल्लेख गरेका छन् ।