Logo
Logo
प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा बहस

‘फागुन ११ पछि कुनैपनि दिन फैसला आउनसक्छ’

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा सकियो बहस


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौं, ७ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा शुक्रबार एमिकस क्युरीका तर्फबाट राय प्रस्तुत गर्नेक्रम सकिएको छ । एमिकस क्युरीको पाँचौं सदस्यका रुपमा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय प्रस्तुत गरेपछि राय प्रस्तुत गर्नेक्रम सकिएको हो ।
बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संवैधानिक प्रावधान रहेको उनको तर्क थियो । अधिवक्ता संग्रौलाले संविधानको धारा ७६ का विभिन्न उपधाराअन्तर्गत सरकार गठनका लागि प्रयास गर्नुपर्ने र ती उपधाराअनुसार प्रयास गर्दा पनि सरकार बन्न सक्ने अवस्था नरहेमात्र धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन हुने उनको राय थियो ।
संविधानको धारा ८५ मा ‘अगावै विघटन भएमा’ भन्ने शब्दावली रहेको सन्दर्भमा उक्त शब्दावलीको अर्थ संविधानको धारा ७६ को विभिन्न उपधाराअन्तर्गत पहल गर्दा पनि सरकार बन्न नसकेर विघटन गर्नुपरेको अवस्थाका रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।
इजलासमा बहस सकिएसँगै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई ‘कहिले निर्णय सुनाउँने ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले फागुन १० गतेसम्म इजलासमा बहस नोट बुझाउन भनिएको र ११ गते ११ पछि कुनैपनि दिन फैसला आउने आशय व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्