Logo
Logo

काेराेनापछि पुनः बढ्याे विदेशी वस्तुकाे आयात, सात महिनामै आठ खर्ब


दृष्टि संवाददाता

630
Shares

काठमाडौं, ७ फागुन । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको हो ।

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा रु आठ खर्ब बढीको आयात भएको छ । विभागले सार्वजनिक गरेको सात महिनाको ( साउनदेखि माघ मसान्तसम्म ) तथ्याङ्कअनुसार रु आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा रु आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो ।

यसैगरी सात महिनाको अवधिमा रु ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अबधिको तुलनामा ७ दशमलव ६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा सोही अवधिमा रु ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ ।

कुन महिना कति आयात ?
–साउनमा रु ८५ अर्ब ८० करोड,
–भदौमा रु ९३ अर्ब चार करोड
–असोजमा रु एक खर्ब १३ अर्ब ४३ करोड
–कात्तिकमा रु एक खर्ब १० अर्ब २२ करोड,
–मङ्सिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड,
–पुसमा रु एक खर्ब ३५ अर्ब ७४ करोड

हालसम्मकै धेरै माघ महिनामा रु एक खर्ब ४२ अर्ब ३९ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ छ ।

प्रतिक्रिया दिनुहोस्