- के आर पाण्डुलिपी
मध्यराति मस्तिष्कलाई ठेगाना बनाएर
प्रश्नले एक चिठ्ठी कोरेछ
महोदय,
किन यी पत्रिकाले
बरफ भएका शरिरिकको
समाचार काला अक्षरले लेख्छ ?
कोपिलामै हवसको करौतिले
रेटिएका कलिला फूलहरुको
बिछिप्त तस्बिर किन रंगीन प्रकासन गर्छ ?
हिउँ भएका शरीरहरु
करौतिको धारिलो दाग बोकेर
न्ययको याचना गर्दा,
आँखामा कालो पट्टी बाँधेर
कालोकोटमा सजिनेहरुले
सुनाउँछन् इजलास–
बलात्कार भएको होइन तन समर्पण हो ।
हिउँ हुनुपूर्व बगेको रातो रगतले
आफ्नो सपनाको ब्लूप्रिन्ट देखाउँदा
किन मौन बसिदिन्छन्,
सभ्य र समृद्ध समाजको
ब्लूप्रिन्टको सपना बाँड्ने महोदयहरु ?
भित्तामा रातो रंगले लेखिएको क्रान्तिको नारा
कुकुरको मूत्रले बलात्कृत भएर
सडकमा रातो रंग बग्दा
नाराको अस्तित्व मेटिएको विरोधमा
सडकमा उत्रिन्छन् बुख्याँचाहरु
तर
किन उत्रिदैन्
नारीको आँस र रगतले धरा रंगिँदा ?
रगतको मुल्य कुर्सीको लागि बग्दा
मात्र महंगो हुने हो र ?
मेरो मौनता पनि त
मेरो बलात्कारी हो !
कति दिन हुन दिउँ म आफ्नो बलात्कार ?
०००