- सुनिल आङ्बो
म जरुर जान्दछु, सपना देख्न
सपना देख्नु उपस्थिति हो
सपना देख्नु मेरो पनि सहभागिता हो
तर, जब सपना देख्न थाल्छु
प्रतिगमनले लात हान्छ ।
प्रतिगमनको प्रहारले
मेरा कलिला प्रदेशहरु फेरि छट्पट्टिन्छन्
जसरी छटपट्टिन्छ निर्मला पन्तहरू संसद भवनको आँगनमा
र, ओइलिन्छ, न्यायलयको ढोकामा ।
गुराँसको अतिक्रमणले लगातार पोतिएर पहाड
मेटिन्छन् मेरा देशका अनेकौँ पहिचान
र,
रहेका बाँकी केही
औँसीको विशाल अँध्यारो साम्राज्यले
निल्न थाल्छ
रैथाने बिम्ब बोकेको मेरा कविताहरू
मेरो जन्म बोकेर उभिएको स्थलहरू
मेरो धड्कन बोकेको लोकगीतहरू
तब मैले यो मृत्युु र जिन्दगीबीच उभिएर
चिच्याउँनै पर्छ
ए इतिहासको पानाहरूबाट उठ
ए यो कंकाल चिहानहरूबाट निस्क
विजयी झण्डाहरू फर्फराउँदै
आवाजमा बिद्रोह ओकल्दै ।
ए भुँइमान्छेहरू !
पराजित कहानीहरूलाई च्यात्दै
प्रतिगमन र एकात्मकतालाई फुटाउँदै
क्रान्तिको आवाज बोल
अब क्रान्तिको धुन निकाल ।
०००