काठमाडौं, ८ फागुन । राहतको रकम माग्दै सिन्धुपाल्चोक जुरे पहिरोपीडितले काठमाडौंको माइतीघरमा धर्नासहित प्रदर्शन गरेका छन् । दाताले दिएको रकम सरकारले दिन चासो नदेखाएको भन्दै उनीहरुले धर्नासहित प्रदर्शन गरेका हुन् ।
सरकारले पीडितहरूको नाममा जम्मा भएको रकम प्रदान गर्ने व्यवस्था नगरेपछि पहिरो चरणमा सरकारको विरोध स्वरुप प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।
पहिलो चरणको आन्दोलनपछि पनि आफ्नो नाममा जम्मा भएको रकम नपाए जुरे गाउँपालिकाको तर्फबाटै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
जुरे पहिरो प्रभावितहरुले आफूहरुको नाममा देश विदेशबाट नेपालीहरुले संकलन गरेको रकम समेत नदिइएको भन्दै आक्रोश पोखेका थिए । आफूहरुले सरकारबाट नभइ चन्दा आएको रकम माग गरेको प्रदर्शनमा सहभागी भएकाहरुले बताएका छन् ।
साविकको राम्चे गाउँ विकास समितिमा २०७१ साउन १७ गते राती इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा, बाह्रविसेको जुरे र टेकानपुर गाविससम्म पहिरो जाँदा ठूलो मानवीय र भौतिक क्षती भएको थियो। पहिरोमा १ सय ४५ को मृत्यु भएको थियो ।
पीडितहरुलाई त्यतिबेला स्वदेश र विदेशबाट सहयोगी दाताहरुले तत्कालिन जिल्ला दैवीप्रकोप उद्धार समितिको कोषमा सहयोग रकम जम्मा गरेका थिए । जुरे पहिरो पीडितहरुको लागि सहयोग जुटेपनि त्यो रकम अहिलेसम्म पाउन नसकेको उनीहरुको गुनासो छ ।